images
images

बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील  मुख्यमन्त्री

काठमाडौं, भदौ २९ रासस
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उनले कर्णालीमा बालबालिकाको संरक्षण, संवद्र्धन तथा प्रर्वधनमा महत्वपूर्ण काम भएको बताए ।

    
आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन, “बालअधिकार सुनिश्चित तथा संवर्धन गर्न कर्णाली सरकारले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत यहाँका २० हजार छोरी लाभान्वित हुँदै आएका छन्, त्यस्तै विद्यालय तथा समुदायस्तरमा मनोसामाजिक परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको छ ।”

    
मुख्यमन्त्रीसँग बालबालिका, विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग, सडक बालबालिका उद्धार तथा पुनःस्थापना, विपन्न तथा जेहेन्दार छात्रवृत्ति, विद्यालय नर्स कार्यक्रमसमेत सञ्चालन गरिएको बताउँदै उनले प्रदेश बालअधिकार समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका छन ।

    
नेपालले संयुक्त राष्ट्र सङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, संरक्षण र सहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन मात्र नभई प्रदेश सरकार सदैव बालअधिकार सुनिश्चित गर्न कटिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताएका छन ।