हरेक हप्ताको दुई दिन बिहानै हामी सिट्टी (व्हिसल) को चर्को आवाज सुन्छौँ । यो आवाजले फोहोरमैला संकलकहरू आइपुगेको संकेत गर्छ । जुन सुनेर मानिसहरूले आफ्नो फोहोर बाहिर निकाल्छन् र श्रमिकहरूले ती फोहोरलाई गाडिमा हाल्छन् । यो प्रक्रिया सामान्य र सरल देखिए पनि यी श्रमिकहरूले प्रयोग गर्ने सिट्टी उनीहरूको स्वास्थ्यका लागि हानिकारक छ ।
धेरैजसो फोहोरमैला श्रमिक साथीहरूले पन्जा लगायत उचित सुरक्षात्मक सामग्री लगाउँदैनन् । उनीहरू हरेक दिन नाङ्गो हातले सबै प्रकारका फोहोर—खाद्यजन्य फोहोर, प्लास्टिक, धारिला वस्तुहरू र खतरनाक अस्पतालजन्य फोहोरसमेत—व्यवस्थापन गर्छन् । उनीहरूको हात अत्यन्तै फोहोर र कीटाणुले भरिएको हुन्छ र त्यहि हात सिट्टी फुक्न मुख सम्म जाने भएकाले उनीहरूले दिनमा धेरै पटक फोहोर वस्तु आफ्नो मुखमा छिराउन पुग्छन् । यस अभ्यासले सजिलै हानिकारक कीटाणु फैलाउन सक्छ र संक्रमण, पेटसम्बन्धी रोगहरू, श्वासप्रश्वाससम्बन्धी समस्याहरू र अन्य रोगहरूलगायत गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
नेपालमा गरिएका विभिन्न अध्ययनहरूले फोहोरमैला श्रमिकहरूको काम कति खतरनाक छ भनी देखाएका छन् । ललितपुर महानगरपालिकामा सन् २०२५ मा गरिएको एउटा अध्ययनले पत्ता लगाएअनुसार ९५% फोहोरमैला श्रमिकहरूले शारीरिक खतराको सामना गरेका थिए भने ६२५ हानिकारक ब्याक्टेरिया र भाइरसको सम्पर्कमा थिए । तर, थोरैलाई मात्र पन्जा वा मास्क दिइएको थियो । सुरक्षात्मक उपकरणहरू उपलब्ध हुँदा पनि धेरैजसो श्रमिकहरूले ती लगाएनन् । किनभने ती सही नापका थिएनन् पन्जा कि त धेरै ठूला हुन्थे वा धेरै कसिलो मास्क खस्ने गर्थे र सुरक्षाका लुगाहरू तातो, गह्रौं वा असहज लाग्थे । यसले गर्दा श्रमिक साथीहरूले ती प्रयोग गर्न छाडे र स्वास्थ्य जोखिमहरू कायमै रहे ।
काठमाडौंमा गरिएको अर्को अध्ययनले अधिकांश फोहोरमैला श्रमिकहरूसँग कुनै सुरक्षा उपकरण नभएको र धेरैलाई चोटपटक, संक्रमण वा श्वासप्रश्वाससम्बन्धी समस्या भएको पत्ता लगाएको थियो । सन् २०१७ को राष्ट्रिय सर्वेक्षणले पनि ६६५ अनौपचारिक फोहोरमैला संकलकहरूलाई चोट लागेको र ७०५ लाई खोकी वा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएको देखाएको थियो । यी निष्कर्षहरूले स्पष्ट रूपमा देखाउँछन् कि फोहोरमैलाको काम पहिले नै अत्यन्त जोखिमपूर्ण छ र मुखले फुक्ने सिट्टीको प्रयोगले यस खतरालाई अझ बढाउँछ ।
यो समस्या समाधानको एउटा उपाय छ । मुखले फुक्ने सिट्टीको प्रयोग बन्द गरेर सुरक्षित उपकरणहरू बदल्ने । उदाहरणका लागी भारतको पुणेमा फोहोरमैला श्रमिकहरूले अहिले सिट्टी प्रयोग गर्दैनन् । उनीहरूले मानिसहरूलाई आफ्नो आगमनबारे जानकारी दिन घण्टी, संगीत वा रेकर्ड गरिएका सन्देशहरू प्रयोग गर्छन् । यी उपकरणहरूलाई मुखले छुने आवश्यकता पर्दैन र यी धेरै सुरक्षित छन् । ब्राजिल वा कोलम्बियाजस्ता अन्य देशहरूमा फोहोरमैला श्रमिकहरूले सिट्टीको सट्टा पम्प हर्न वा गीतको प्रयोग गर्छन् । यी प्रयोग गर्न सजिलो र यिनले रोग फैलाउँदैनन् ।
हामी पनि यस्तै गर्नुपर्छ । काठमाडौं महानगरपालिका, ललितपुर र भक्तपुरजस्ता स्थानीय सरकारहरूले मुखले फुक्ने सिट्टीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ र श्रमिकहरूलाई घण्टी वा स्पिकरजस्ता सुरक्षित विकल्पहरू उपलब्ध गराउनुपर्छ । उनीहरूलाई आधारभूत सुरक्षा किटहरू—पन्जा, मास्क, साबुन र स्यानिटाइजर पनि उपलब्ध गराउनुपर्छ । सरकारले मजदुरहरूलाई स्वस्थ र सुरक्षित कसरी रहने भन्नेबारे तालिम दिनुपर्छ । यी परिवर्तनहरू सहरी विकास मन्त्रालय र श्रम मन्त्रालय अन्तर्गत हाम्रो राष्ट्रिय नियम र नीतिहरूको अंश बनाइनुपर्छ ।
हामी जनताको पनि जिम्मेवारी छ । फोहोरमैला संकलन गर्ने श्रमिकहरूले कठिन र महत्त्वपूर्ण काम गर्छन् । उनीहरूले हाम्रो घर र सडक सफा राख्न मद्दत गर्छन् । हामीले उनीहरूलाई सम्मानका साथ व्यवहार गर्नुपर्छ । हामीले आफ्नो सुख्खा र भिजेको फोहोर छुट्याउनुपर्छ र मजदुर सुरक्षाको रक्षा गर्ने नियमहरूलाई समर्थन गर्नुपर्छ । जसरी हामी सफा वातावरण चाहन्छौँ, त्यसरी नै उनीहरू पनि स्वच्छ र सुरक्षित काम गर्ने वातावरणको हकदार छन् ।
आई.सी.ए. नेपालले विगत दुई वर्षदेखि श्रमिकहरूको स्वास्थ्य र सुरक्षा सुधार गर्न विशेषगरी ठोस फोहोरमैला व्यवस्थापनमा सक्रिय रूपमा काम गरिरहेको छ र फोहोरमैला संकलकहरूको हितका लागि यो कार्यलाई निरन्तरता दिइरहेको छ । आई.सी.ए. नेपालले अनौपचारिक फोहोरमैला संकलकहरू, वडा प्रतिनिधिहरू, महिला समूहहरू र अन्य स्थानीय व्यक्तिहरूसँग मिलेर जनचेतना र पैरवी कार्यशालाहरू सञ्चालन गर्दै आएको छ ।
तसर्थ यी नियमित संम्वादहरूका क्रममा, हामीले यो कुरा थाहा पायौँ धेरै फोहोरमैला संकलकहरूले सबै प्रकारका फोहोर छोएपछि फोहोर हातले सिट्टी फुक्ने गर्छन् । यो उनीहरूको स्वास्थ्यका लागि धेरै जोखिमपूर्ण छ । आई. सी. ए. नेपालले यसलाई एउटा गम्भीर समस्याका रूपमा लिएको छ जसलाई सम्बोधन गरिनुपर्छ । यो असुरक्षित र दैनिक बानीले श्रमिकहरुको स्वास्थ्यलाई जोखिममा पार्छ । तसर्थ आई. सी. ए. नेपालले यसलाई अत्यन्त महत्त्वपूर्ण चिन्ताको रूपमा मान्यता दिएको छ जसलाई तत्काल सम्बोधन गरिनुपर्छ । फोहोरमैला संकलकहरूका लागि सुरक्षित र अधिक सम्मानजनक कार्य वातावरण सिर्जना गर्ने आफ्ना निरन्तर प्रयासहरूमा सम्बोधन गरिनुपर्ने एक प्रमुख मुद्दाका बनाएको छ ।
अन्तमा, सिट्टी एउटा उपकरण मात्र होइन यो हामीले हाम्रा सहरहरू सफा गर्ने मानिसहरूको स्वास्थ्यलाई कसरी बेवास्ता गरेका छौँ भन्ने कुराको प्रतीक पनि हो । यो असुरक्षित उपकरण प्रयोग गर्न बन्द गर्ने र अझ राम्रो, सुरक्षित र चलाख तरिकाहरू अपनाउने समय हो । अब हामी फोहोरका लागि होइन, परिवर्तनका लागि सिट्टी फुकौँ । एउटा सानो कदमले नेपालका फोहोरमैला संकलन गर्ने श्रमिकहरूको जीवन र मर्यादाको रक्षा गर्न ठूलो योगदान दिन सक्छ ।
अनिता गुरुङ्ग
ओ. एच. एस. कार्यदल (Taskforce)