पितृसत्तात्मक: नारी निषेधात्मक
सदियौँदेखि पुरुषहरूले नारीमाथि र समाजलाई सम्पूर्ण रूपमा नियन्त्रण तथा शासन गर्दै आइरहेको कुरा सर्वमान्य रूपमा चलिआएको छ । यसलाई पितृसत्तात्मक शासन भनिन्छ र तथाकथित सर्वशक्तिमान पुरुष पुरोहित, पुरुष पालक र पुरुष ईश्वरबाट परापूर्वकालदेखि विश्वका विभिन्न धर्महरूले मलजल गर्दै आएका छन् । कतिपय मानिसहरू महिलासँग डराउँछन् तथा कतिपय महिलाहरूलाई एक आँखाले हेर्न सक्दैनन् र भयङ्कर घृणा गर्छन् । प्रायः महिलाहरूलाई घरको चारदिवारीभित्र कैद गर्ने, दुव्र्यहार गर्ने, वाक् स्वतन्त्रमा बन्देज लगाउने गरिन्छ । त्यस्तै बच्चा जन्माउने अधिकार, प्रजनन, गर्भधान छनोट, वृत्ति विकास, नेतृत्व लगायत अन्य आधारभूत अधिकारमाथि समेत आवाज उठाउन प्रतिबन्ध लगाइन्छ । यसैलाई ‘नारी निषेधता’ भनिन्छ ।
यो समस्याले महिलालाई मात्र क्षति पु¥याउँदै छैन बरु समाजका हरेक तप्काहरूमा महिलाहरूलाई उनीहरूको उचित अधिकारलाई अभ्यास गर्न तथा उपभोग गर्न रोक लगाएको छ । महिलाहरूको विचार, बुद्धि, ज्ञान, अनुभव र दृष्टिकोणको सम्मान नगर्ने हो भने यो सुन्दर संसारमा हत्या, हिंसा, युद्ध, विनाश, अस्वस्थ प्रतिस्पर्धा र ध्वङ्शात्मक प्रविधि मात्र बाँकी रहनेछन्, जसले यो हाम्रो संसारलाई समूल नष्ट गर्नेछ । हामीले हाम्रो प्रवृत्तिलाई सच्याउनै पर्छ ।
परम्परागत गरिबी तथा सामाजिक बञ्चितीकरण
विश्वमा २५० करोड मानिसहरू दैनिक दुई डलरभन्दा कम पैसामा जीवनयापन गर्छन् र २६० करोड मानिसहरूको स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा पहुँच छैन । १०० करोड मानिसहरू शुद्ध खानेपानीको पहुँचभन्दा टाढा छन् र बर्षेनी १०० करोड बालबालिकाहरूले अकालमै ज्यान गुमाउँछन् । बितेका ३० वर्षमा असमान ज्याला तथा आर्थिक असमानता असामान्य रूपमा आकासिँदैछ । विश्वको कूल जनसङ्ख्याको एक प्रतिशत मानिसहरूले विश्वमा भएको सम्पूर्ण पुँजीको ५०% धनमाथि कब्जा जमाएका छन् । संयुक्त राज्य अमेरिका (यु.एस.ए.) मा १% धनाढ्यहरूले ९० प्रतिशत मानिसहरूमाथि शासन गरिरहेका छन् । (जुलाई सन् २०१७ मा प्रकाशित यो तथ्याङ्क सन् २०१३—१५ को भएको हुनाले केही फरक पर्न सक्दछ ।) हामीहरू अझै पनि असाक्षरता, बिमारी र अज्ञानताबाट भयङ्कर ग्रसित छौँ । हाम्रो शैक्षिक प्रणाली सम्पूर्ण मानिसहरूका लागि पर्याप्त तथा उपयोगी छैन । यसरी नै हाम्रो स्वास्थ्य प्रणाली सम्पूर्ण मानिसहरूलाई आधारभूत औषधि सेवा समेत उपलब्ध गराउन असक्षम छ र हामी अज्ञानताको बिरामीबाट पीडित भएका छौँ ।
हाम्रो आधुनिक अर्थ व्यवस्था पुँजी, नाफा, ऋण, ब्याजमा आधारित छ र क्यासिनो, जुवा अड्डा घर र सट्टा बजार लगानी गर्ने ठाउँ भएका छन् । केही व्यक्तिहरूका लागि अर्थ सञ्चय गर्नु नै बहादुरीपूर्ण कार्य भएको छ र आफ्नो व्यक्तिगत खुसी र सुविधाका लागि द्रव्यकेन्द्रित भएका छन्, जसले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तुनिरामया, सर्वे भद्राणी पश्यन्तुमा कश्चिद् दुःख भाग्जन’को मानवीय मूल सिद्धान्तलाई उपहास गर्नुका साथै प्रकृतिको अनुपम सौन्दर्य तथा सन्देशलाई तिलाञ्जली दिएकोछ । वित्तीय उद्योगधन्दा तथा कलकारखानाहरू रासायनिक पदार्थ, कोइला तथा कोइलाजन्य ऊर्जा र जीवाष्म ऊर्जा उत्पादनमा आधारित छन्, जसले वायु, जल तथा माटोलाई प्रदुषित गर्छ र मानवीय श्रमको दुरुपयोग गर्छ । हाम्रो आर्थिक व्यवस्थाले प्रायः मानवीय ऊर्जा, अरुको जीवनशैली र ग्रहजन्य पारिस्थितिक प्राणलीलाई नाश गर्छ । आर्थिक नीति विश्वका प्रबुद्ध व्यक्तित्वहरूद्वारा निर्माण गरिन्छ, जसले केन्द्रीय बैङ्क तथा लगानीका स्वरूपका माध्यमले पुँजी सञ्चालन र ढाँचालाई नियन्त्रण गरी आमजनतालाई सेवा सुविधाबाट वञ्चित गर्छ । त्यही एक प्रतिशत व्यक्तिहरू जसले व्यक्तिगत लालच र शक्तिको आडमा ९०% मानिसहरूलाई शासन गर्छन् । सरकारले जनताको समानुभूतिपूर्ण सभ्यता खर्च कटौती गर्ने हिसाबले खडा गरेको आर्थिक नीतिले अधिकांश मानिसहरूको जीवनयापन दुःसाध्य हुँदै गइरहेकोछ । त्यसैले केही मुठ्ठिभर व्यक्तिहरूको अथाह सम्पत्ति तथा विलासितापूर्ण रवैया दुवै मानवीय हिसाबले अमानवीय तथा प्रत्युत्पादक छन् ।
असङ्ख्य गरीब मानिसहरूको सङ्ख्या दिनदिनै थपिँदैछ तथा मध्यम वर्गीय मानिसहरू अभूतपूर्व रूपमा कमजोर हुँदैछन् । धेरै मानिसहरूसँग गुणस्तरीय शिक्षा तथा स्वास्थ्यका लागि पर्याप्त पैसा छैन र पहुँच पनि छैन । पैसा बैङ्कमा थुपार्ने होडबाजी, लालच र ‘म खाऊँ मै लाऊँ सुखसयल मोज म गरुँ । म बाँचु मै नाचूँ मै हाँसूँ अरु सब मरून् दुर्बलहरू’को सिद्धान्तमा आधारित आर्थिक प्रणाली भएकाले धनी मानिसका लागि फलिफाप भएकोछ भने गरीबहरूका लागि अफाप सिद्घ भएकोछ । यदि तपाईंसँग पैसा छ भने तपाईं पैसाको प्रयोग गरेर पैसा कमाउन सक्नुहुन्छ । यदि तपाईंसँग पैसा छैन भने तपाईंले ज्यालादारीमा काम गर्नुपर्छ र जति तपाईं कमाउनुहुन्छ, त्यति पैसा तपाईंको परिवार र तपाईंका लागि अपर्याप्त हुन्छ । यस्तो समस्याका अनेक कारणहरूले गर्दा धेरै मानिसहरू पीडित बन्न पुग्छन् र आफ्नो बाँकी जीवनलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने सवालमा ‘किंकर्तव्य विमूढ’ हुन पुग्छन् ।
(लेखक वर्क अनुसन्धानकर्ता, स्वतन्त्र लेखक, परामर्शदाता, रूपान्तरण अभियन्ता हुनुहुन्छ ।)