काठमाडौँ । आइसिए नेपाल र इम्याजिन नेपालले संयुक्त रूपमा तालिम सञ्चालन गरेको छ । आइसिए नेपालको केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबारदेखि तालिम सुरु भएको हो । यी दुवै संस्थाले यसअघि पनि यसखाले तालिम दिँदैआएका छन् । यस तालिममा नयाँ सिकारु र पुराना अभ्यासकर्ताहरूको सहभागिता रहेको छ ।
कार्यक्रमका सहभागीहरूलाई सकारात्मक पृष्ठपोषण, सकारात्मक संवाद, सकारात्मक बानी-व्यवहार, सकारात्मक विश्वासलगायत विषयहरूमा तालिम गराइएको थियो । तालिममा इम्याजिन नेपालका संस्थापक अध्यक्ष प्राध्यापक डा.तत्त्वप्रसाद तिमल्सिना र रुपेन्द्र महर्जन प्रशिक्षक हुनुहुन्थ्यो ।
नेपालमा लामो समयदेखि सामुदायिक विकास, वैयक्तिक विकास, महिला उत्थानमा काम गरिरहेको आइसिएले विशेषत मानिसहरूको सीप, क्षमताको अभिवृद्धिका क्षेत्रमा काम गर्दै आइरहेको छ । विभिन्न गोष्ठी तालिमहरूबाट मानिसहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्दै आइरहेको आइसिएले नेपालको ५० भन्दा बढी जिल्लाहरूमा आफ्नो कार्यक्रम सञ्चालन भएको प्राध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रशंसनीय तालिममा सहभागी
हुन पेप्सिकोलादेखि आउनुभएकी अनुपा केसी आइसिएले आफूलाई सकारात्मक बाटोमा हिँडाएको बताउनुहुन्छ । उहाँ आफू आइसिएमा आबद्ध भएसँगै पारिवारिक वातावरण निकै सहज बनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिला पहिला कहिलेकाहीँ श्रीमानसँग सानोतिनो झगडा हुन्थ्यो । तर, आजभोलि त्यस्तो हुँदैन ।’ अनुपा आफू छोरालाई पनि सकारात्मक चिन्तनको बाटोमा डोर्याएको बताउनुहुन्छ । उहाँ छोराको सकारात्मक कुराहरूलाई महत्त्वका साथ हेरिदिने र हौसला गरिदिने गरेको बताउनुहुन्छ ।
उहाँजस्तै तालिममा सहभागी हुन कोटेश्वरबाट आउनुभएका रोशन पराजुली पनि अनुपाकै कुरामा सही थाप्नुहुन्छ । उहाँ आफू मनोवैज्ञानिक तनावमा रहेको, तर आइसिएमा आएपछि सकारात्मक चिन्तन र उर्जा पाएको बताउनुहुन्छ । कामको बोझले खपिनसक्नुको पीडा झेलेको बताउने उहाँ अहिले सबै कुराको तौर-तरिका मिलेको बताउनुहुन्छ । ‘आइसिएसँग जोडिएसँगै मेरो जीवनको ‘सकारात्मक ऊर्जाको नयाँ अध्याय’ सुरु भएको छ’ उहाँले भन्नुभयो ।
तालिमका सबै सहभागीहरू सकारात्मक सोच - प्रशंसनीय दृष्टिकोण तालिम लिन पाएकोेमा उत्साहित रहेको पाइयो ।