उत्पादन प्रक्रियामा पुँजीपतिहरूलाई मुद्रा पुँजीको न्यूनताको अवस्था सिर्जना हुन गएमा उनीहरूले ऋण सापटी लिएर उत्पादन प्रक्रिया अघि बढाउँछन् । यसरी औधोगिक पुँजीपतिले ऋण रकम प्राप्त गरे वापत ऋण प्रदान गर्ने पुँजीपतिलाई पुरस्कार स्वरूप वा हर्जाना स्वरूप अतिरिक्त मूल्यको केही अंश प्रदान गर्दछ जसलाई ब्याज भनिन्छ ।
मार्क्सका अनुसार ‘ब्याज अतिरिक्त मूल्यको त्यो भाग हो जुन कार्यशील पुँजीपति (Functioning Capitalist) ले मौद्रिक पुँजीपति (Money-Capitalist) लाई मुद्राको विशिष्ट उपयोग मूल्य प्रयोग गरे वापत प्रदान गर्दछ । मौद्रिक पुँजीमा नाफा उत्पादन गर्न सक्ने विशिष्ट उपयोग मूल्य रहेको हुन्छ , त्यही मूल्य प्रयोग गरेवापत अतिरिक्त मूल्यको एक हिस्सा उद्योगपतिले वित्तीय पुँजीपतिलाई तिर्दछ ।’ ब्याजको रूपमा ऋणणदातालाई दिइने रकम पुँजीको परिचालनबाट प्राप्त हुने नाफाको एउटा हिस्सा हो ।
ऋण पुँजीको उपयोगबाट प्राप्त हुने अतिरिक्त मूल्यलाई दुई भागमा विभाजित गरिन्छ । एक भाग औद्योगिक पुँजीपतिले नाफाको रूपमा आफैसँग राख्छ भने अर्को भाग ऋणदातालाई ब्याजको रूपमा प्रदान गर्छ । तसर्थ, हामी जसलाई ब्याज भन्छौं, त्यो अतिरिक्त मूल्यको एक परिवर्तित रूप मात्र हो र त्यसको श्रोत श्रमिकहरूलाई नदिइकन ठगेको श्रमिकको ज्याला हो । ऋण प्रदान गर्ने संगठित संस्थाको रूपमा बैंक तथा वित्तिय संस्थाहरू सक्रिय रहेका छन् । यी संस्थाहरूले निष्क्रिय पुँजीलाई संकलित गरी उद्योगपति तथा व्यापारीहरूलाई ऋण स्वरूप प्रदान गर्दछन् र त्यसको बदलामा ब्याजको रूपमा अतिरिक्त मूल्य प्राप्त गर्दछन् ।
भू—सम्पत्ति र भूमिकर वा लगान
सामन्तवादी उत्पादन व्यवस्थामा जस्तै पुँजीवादी उत्पादन व्यवस्थामा पनि जमिन माथिको उत्पादनबाट भूमिपतिहरूले अतिरिक्त मूल्य प्राप्त गर्दछन् । सामन्तवादी उत्पादन सम्बन्धमा भूमिपतिबाट प्राप्त जमिनमा भूदासहरूले खेती गर्ने र त्यसको बदलामा भूमिपतिहरूको जमिनमा मालिकहरूको लागि निशूल्क श्रम गर्ने परिपाटी थियो । साथै जमिन प्रयोग गरे वापत निश्चित कृषि उत्पादन तिरो वा करका रूपमा भूमिपतिहरूलाई बुझाउने परिपाटी वर्तमान समयमा पनि रहेको छ ।
पुँजीवादी उत्पादन सम्बन्ध अन्र्तगत भूमिपति, जग्गा भाडामा लिने पुँजीपति र खेती कार्य गर्ने कृषि मजदुर गरी तीन वटा वर्गहरू एक आपसमा क्रियाशील रहेका हुन्छन् । जमिनको उपयोग गर्न दिए वापत कृषि पुँजीपतिले भूमिपतिलाई कृषि मजदुरहरूद्वारा सिर्जना गरिएको अतिरिक्त मूल्यको एउटा हिस्सा प्रदान गर्दछ, जसलाई भूमिकर वा लगान भनिन्छ । कृषि मजदुरद्वारा सिर्जित अतिरिक्त मूल्यलाई दुई भागमा विभाजन गरिन्छ । एक भाग औसत नाफाको रूपमा कृषि पुँजीपतिले प्राप्त गर्दछ भने औसत नाफाभन्दा बढी भएको अर्को भाग भूमिपतिले भूमिकर वा लगानको रूपमा प्राप्त गर्दछ । यदि भूमिपति आफै पुँजीपति पनि छ, भने अतिरिक्त मूल्यको सम्पूर्ण भाग उसले नै प्राप्त गर्दछ । यसरी भूमि लगान वा करको स्रोत कृषि मजदुरद्वारा सिर्जित अतिरिक्त मूल्य नै हो । मार्क्सका अनुसार भूमि लगान दुई प्रकारको हुन्छ । एक विभेदक लगान (Differential rent) र निरपेक्ष लगान ( absolute rent) । यद्यपि दुवै लगान उत्पन्न हुने परिस्थितिहरू फरकफरक हुन्छन् । तर तिनीहरूको सार र स्रोत एउटै हो । त्यो हो कृषि मजदुरबाट सिर्जित अतिरिक्त मूल्य ।
विभेदक भूमि लगान
जमिनको उत्पादकत्व तथा भूमिको अवस्थितिका कारण उत्पन्न हुने लगानलाई विभेदक लगान भनिन्छ । उर्वरा शक्ति राम्रो भएको र बजारको नजिक रहेको जमिनले अन्य जमिनको तुलनामा जुन अधिक अतिरिक्त मूल्य उत्पादन गर्छ त्यो नै विभेदक लगानको स्रोत हो । यसरी अतिरिक्त रूपमा राम्रो रहेको जमिनबाट औसत नाफाभन्दा बढी जुन अतिरिक्त नाफा उत्पन्न हुन्छ, त्यो अतिरिक्त नाफालाई विभेदक लगानको रूपमा भूमिपतिले प्राप्त गर्दछ । बढी रामे जमिनमा कार्य गर्ने श्रमिकहरूको श्रम बढी उत्पादनशील रहन्छ र त्यसले बढी अतिरिक्त मूल्यको सिर्जना गर्दछ । यो नै विभेदक लगानको स्रोत हो ।
निरपेक्ष भूमि लगान
निम्न उर्वरा शक्ति भएको जमिनबाट विभेदक लगान उत्पन्न हुँदैन । तर निम्न उर्वरा शक्ति भएको जमिनमा पनि कुनै लगान प्राप्त भएन भने भूमिपतिले जमिन बाँझै राख्दछ । राम्रो उर्वरा शक्ति भएको जमिनको उत्पादनले मात्र मानवीय आवश्यक्ता पूरा हुन सक्दैन । तसर्थ निम्न उर्वरा शक्तिको भूमिको प्रयोग गरे वापत भूमिपतिलाई जुन रकम प्रदान गरिन्छ, त्यसलाई नै निरपेक्ष लगान भनिन्छ । यो निरपेक्ष लगान भूमिको उर्वरा शक्तिको कारणले प्राप्त भएको होइन, यो त जमिन माथिको स्वामित्वको कारणले भूमिपतिले प्राप्त गरेको हो । यसरी निरपेक्ष भूमि लगान भन्नाले भूमिपतिले कृषि उत्पादनको निम्ति भूमि प्रयोग गर्न दिए वापत
प्राप्त गर्ने एउटा निश्चित भाडा हो । निरपेक्ष लगान न्यूनतम उर्वरभूमिको उत्पादन मूल्यको समान राखिएको हुन्छ । निरपेक्ष लगान बुझाउनुको साथै कृषि पुँजीपतिले औसत नाफा पनि कमाउने गर्दछ । यसको निम्ति कृषि उत्पादनको उत्पादन मूल्यभन्दा बढी मूल्यमा बजार मूल्य (Market Price) कायम गरिन्छ । उत्पादन मूल्य र बजार मूल्य बिचको अन्तर नै निरपेक्ष लगानको रूपमा भूमिपतिलाई प्रदान गरिन्छ । यसरी निरपेक्ष लगानले कृषि उत्पादनलाई बढी मँहगो बनाउँदैछ । यो लगान तिर्नु नपरेको भए कृषि उपज उत्पादन मूल्यमा बिक्री गर्न सकिन्थ्यो । यसरी भूमिपतिले प्राप्त गर्ने यो लगान एकदम परजीवि स्वभावको छ र यसको अन्त्य गर्ने पर्छ । यसो हुनुको कारण भनेको जमिन माथिको भूमिपतिको एकाधिकारी निजी स्वामित्व नै हो ।
पुँजीपतिहरूद्धारा जमिनको उर्बरा शक्तिलाई देखाएरै लगानको स्रोत भूमि नै हौ भन्ने व्याख्या एकदम निराधार छ । कृषि श्रमको शोषण बिना अत्यन्त राम्रो जमिनले पनि कहिल्यै मूल्य उत्पन्न गर्न सक्दैन । माक्र्स भन्नुहुन्छ ‘सबै प्रकारको लगान अतिरिक्त मूल्य हो र अतिरिक्त श्रमको उपज हो ।’ पुँजीवादी लगान र सामन्तवादी लगान निजी स्वामित्वका परिणाम हुन् तर तिनको शोषणको रूपहरूमा भिन्नता छ । भूमिपतिले किसानबाट प्राप्त गर्ने कुल अतिरिक्त श्रम या उपज नै सामन्ती लगान हो भने पुँजीवादी लगान कृषि पुँजीपतिद्वारा भूमिपतिलाई प्रदान गरिने कृषि श्रमिकबाट ठगेको औसत नाफा भन्दाबढी रहेको अतिरिक्त मूल्य नै हो । सामन्तवादी लगानले भूमिपति र कृषक बिचको शोषणयुक्त सम्बन्धलाई दर्शाउँछ भने पुँजीवादी लगानले भूमिपति र कृषि पुँजीपतिको गठबन्धन र कृषि मजदुरको शोषणयुक्त सम्बन्धलाई व्यक्त गर्दछ । माथि उल्लेखित व्याख्याबाट के प्रष्ट हुन आउँछ भने पुँजीवादी समाजमा अतिरिक्त मूल्य नै श्रम नगर्ने वर्गको आयको स्रोत हो ।
पुँजीवाद (Capitalism)
नाफा आर्जन गर्ने उद्देश्यले संचालित उत्पादनका साधनहरूमाथि निजी स्वामित्वमा आधारित एक आर्थिक तथा राजनीतिक प्रणाली नै पुँजीवाद हो । पुँजीवादी व्यवस्थामा उत्पादन सम्बन्धहरू उत्पादन साधनहरू माथिको निजी स्वामित्वमा आधारित रहेको हुन्छ । पुँजीवादी आर्थिक व्यवस्था श्रमिकहरूको शोषणमा आधारित व्यवस्था हो । अतिरिक्त मूल्यको शोषण नै पुँजीवादको प्रमुख आधार हो । ज्यालादारी श्रमिकको शोषणमा नै पुँजीवाद टिकेको छ । यसरी हामी के भन्न सक्छौं भने श्रमिक वर्गको अतिरिक्त श्रमद्वारा सिर्जना गरिएको अतिरिक्त मूल्यको शोषणद्वारा पुँजीमा वृद्धि गराउने र श्रमिकलाई कङ्गाल बनाउने आर्थिक तथा राजनीतिक प्रणाली नै पुँजीवाद हो ।
पुँजीवादको संकट (Crisis of Capitalism)
पुँजीवाद एक त्यस्तो सामाजिक आर्थिक व्यवस्था हो जुन सामन्तवादको गर्भबाट उत्पन्न भएको हुन्छ र सोही गर्भमा समाजवादको भ्रुण तयार गर्दछ र स्वंय पुँजीवादको अन्त्य गर्दछ । पुँजी संचयको बृद्धिसँगै एकातिर थोरै व्यक्तिहरूको हातमा पुँजीको एकत्रीकरण भइरहेको हुन्छ र अर्कोतिर अरबौं मानिसहरू चरम गरिबी र भोकको शिकार हुँदै गैरहेको हुन्छन् । हालैको एक अनुसन्धान प्रतिवेदन अनुसार एक प्रतिशत व्यक्तिको हातमा विश्वको ४८ प्रतिशत व्यक्ति बराबरको सम्पत्ति रहेको छ । पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गको जन्म एक्लै भएको हुँदैन, उसको जन्मको साथ साथै सर्वहारा वर्गको पनि जन्म भएको छ । पुँजीवादको विकास जुन रूपमा बढदै जान्छ समाज प्रष्ट रूपमा दुई विरोधी वर्गमा विभाजित हुँदै जान्छ । यस व्यवस्थामा एकातिर प्रसस्त मात्रामा धन दौलत, सम्पत्तिको सिर्जना हुन्छ र त्यो समृद्धि कमभन्दा कम मानिसमा केन्द्रित हुँदै जान्छ भने अर्कोतिर व्यापक मात्रामा भोक, गरीबी र विपन्नताको सिर्जना हुन्छ र संसारका अत्यधिक व्यक्तिहरू भोक, गरीबी, अभाव, अशिक्षाको शिकार हुन्छन् ।
पुँजीवादी व्यवस्थाका यी दुई आधारभूत वर्गहरू एक आपसमा विरोधी र कहिल्यै मिल्न नसक्ने खालका छन् । पुँजीपति वर्गको स्वार्थ बढीभन्दा बढी अतिरिक्त मूल्यको शोषण गरेर नाफा कमाउनु रहेको छ भने सर्वहारा वर्गको स्वार्थ बढीभन्दा बढी ज्याला प्राप्त गरेर अतिरिक्त मूल्यमा आफ्नो बढी हिस्सा खोज्नु नै हो । ज्याला बढे नाफा घट्छ ज्याला कम भए नाफा बढ्छ । पुँजीवादको विकासको साथसाथै सर्वहारा वर्गको संख्यामा वृद्धि हुन्छ र उनीहरू संगठित हुँदै जान्छन् र उनीहरू आफ्नो न्यायपूर्ण आन्दोलनलाई अघि बढाउँदै लैजान्छन् । सर्वहारा वर्ग लड या मरको अवस्थामा पुग्दछन् । यस्तो अवस्थामा पुँजीवादी व्यवस्थालाई ध्वस्त पार्दै समाजवादी क्रान्ति सम्पन्न हुन्छ र समाजवाद स्थापना हुन्छ । यसरी पुँजीवादको विकास सँगसँगै पुँजीवादको संकटमा वृद्धि हुन्छ र अन्त्यमा पुँजीवादको पतन भई समाजवाद निर्माण हुन्छ ।
(लेखक राजनीतिक अर्थशास्त्र विषय प्राध्यापन गर्नुहुन्छ ।)