images
images

उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै राजीव

काठमाडौं, असोज ४ रासस
राजीव साह भर्खर १५ वर्षमा हिँड्दै छन । तर उनको काँधले भने तीन  दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले  साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ ।

मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बुवा अशोक  सिटी सफारी चलाउथे । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउछन । “डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उनी बताउछन । सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनले गुनासो गर्छन ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाछन । “कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्छन”, उनी बताउछन ।

स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न  सबैसंग आग्रह गरेका छन ।