images
images

पुरानै लयमा फर्कियो वैदेशिक रोजगार

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको वैदैशिक रोजगार पछिल्लो समय पुरानै लयमा फर्किएको छ । चालु आर्थिक वर्षको चैत अन्तिमसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। यो संख्या गत आर्थिक वर्षभरिको भन्दा तीन गुणाले बढी हो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या एक लाख ६६ हजार ६९६ जना रहेको थियो ।

कोरोनाले गर्दा करिब डेढ वर्ष ठप्प भएको वैदेशिक रोजगार कोरोनाको प्रभाव कम हुँदै गएपछि रोजगारीको खोजीमा विदेशिने बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७ र चैतमा ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका छन्।

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो। कोरोना महामारी सुरु भएको वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो।

योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए। आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो। कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा नेपाल भित्रने रेमिट्यान्समा पनि वृद्धि हुने आशा गरिएको छ। कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पछिल्लो समय नेपाल भित्रने रेमिट्यान्स घट्दै गएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)मा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्रबैंकले जनाएको छ।