आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मनाउन सुरू गरिएको ११३ औँ वार्षिक दिवस हो । सन् १९१० मा क्लारा जेट्किनको नेतृत्वमा सुरू भएको यो दिवस श्रमजीवी-श्रमिक महिला लक्षित थिायो । यो ११३ वर्षको अवधिसम्म आइपुग्दा यसमा ‘श्रमिक’ शब्द प्रायः हटिसकेको छ र अन्तर्राष्ट्रिय महिला दिवस, महिला दिवस हुँदै नारी दिवसमा खुम्चिँदो छ । यसको खास पृष्ठभूमि अमेरिकाका कपडा कारखानाका श्रमिक महिलाहरूले गरेको सरकार विरोधी आन्दोलनसँग जोडिएको छ । अमेरिकी परिवेशमा त्यहाँका महिलाहरूले अधिकार नपाएको महसुस गरे, त्यस विरुद्ध सङ्घर्षको आवश्यकता बुझे, आन्दोलन गरे । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन् १९०८ को कपडा उद्योगमा काम गर्ने महिलाहरूले गरेको आन्दोलनको सम्मान, सम्झना र ऐक्यबद्धता स्वरूप फेब्रुअरी २८, १९०९ मा यो दिवसको आयोजना गरी मनाएको थियो । त्यसदेखि फेब्रुअरीको अन्तिम आइतबार मनाउने निर्णय भएको थियो ।
विभिन्न व्यक्तित्वहरूका भनाइ, लेख तथा अन्य स्रोतहरूका अनुसार सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तराष्ट्रिय रूपमा मनाउने प्रस्ताव पारित भयो । यस दिवसको अन्तर्राष्ट्रिय मान्यतासँग महिलाहरूको मताधिकारको विषय उल्लेखनीय रहेको छ । त्यतिबेलासम्म संसारका कैयौँ देशहरूमा महिलालाई मताधिकार थिएन । सन् १९१७ मा रसियाका महिलाहरूले यही दिवसको अवसरमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यस अर्थमा यो आन्दोलन गरिबी तथा शोषण विरुद्धको आन्दोलन पनि थियो । रसियामा महिलाहरूको यो आन्दोलन त्यहाँको राजनीतिक क्रान्तिको हिस्सा बनिसकेको थियो । यस क्रममा त्यहाँका महिलाहरूले गरेको हडताल पनि ऐतिहासिक हुन गयो । यस वर्ष जारशाहीको अन्त्य भयो । अन्तरिम सरकारले महिलाहरूलाई मताधिकार दियो । फरकफरक ठाउँमा प्रचलनमा रहेका फरकफरक पात्रो (जुलियन र ग्रेगेरियन) जुलियन पात्रोका हिसाबले १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा परेको थियो भने ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यसैले अन्तर्राष्ट्रिय रूपमा ८ मार्चको दिनलाई यो दिवस मनाउने निश्चित भएको हो । यद्यपि, यो श्रमिक महिला दिवस हो, तर यस आन्दोलनको अन्तर्वस्तु महिलाका मात्र हक-अधिकारमा सीमित रहेको देखिँदैन ।
मानवीय नाताले यस्ता आन्दोलनहरूप्रति सबैले समर्थन जनाउनु, सहानुभूति जनाउनु र ऐक्यबद्धता व्यक्त गर्नु सकारात्मक विषय हो । तर, के हामी जागेकै त्यतिबेला हो त ? त्यसअघि यस उपमहाद्वीपका महिलाहरूमा केही जागरण नै थिएन ? संयुक्त राष्ट्रसंघ, त्यसका उपक्रमहरूको संरचनामा पाश्चात्य प्रभाव रहेको छ । उनीहरूकै प्रभावमा त्यतातिर सुरु भई विकास भएका आन्दोलनहरू मात्र ‘अन्तर्राष्ट्रिय’ भएका छन् । यस उपमहाद्वीपका चेतना, सङ्घर्ष, भोगाइले ‘अन्तर्राष्ट्रिय’ हुने हक राख्दैनन् र ?
यहाँ सिङ्गो भारतीय उपमहाद्वीपको कुरा नगरौँ, हाम्रै नेपालको मात्र विषय लिँदा पनि संसारमै हाम्रो महिला आन्दोलनको ज्येष्ठता छ । योगमाया न्यौपानेको सङ्घर्षको इतिहासले यहाँको ज्येष्ठता पुष्टि गर्दछ । योगमायाको आन्दोलनको अन्तर्वस्तुमा यो पक्ष पहिलो पक्षको रूपमा रहेको देखिन्छ । वि.स. १९२४ (सन् १८६७) मा जन्मेकी योगमायाको उमेर सन् १९१० मा ४३ वर्षको थियो । यो ४३ वर्षमा योगमाया सामाजिक उत्पीडन बेहोर्दै चुपचाप बसिन् होला ? कदापि बसिनन् । योगमायाको सङ्घर्ष उनी १४ वर्षको हुँदादेखि सुरु भएको हो । सात वर्षको उमेरमा विवाह गरिदिएकी योगमाया नौ वर्षकी हुँदा विधवा भइन् । यो अबोध बाल्यकालदेखि १४ वर्षको किशोर उमेरसम्म घरमै बसिन् । यस बसाइमा अकल्पनीय लाञ्छना र प्रताडना खप्नुप¥यो । विवाह गरेकी छोरी, त्यसमाथि विधवा । धार्मिक अन्धविश्वास र सामाजिक रूढीका बिच उनी १४ वर्षको उमेरमा माइत गएपछि घर फर्कन मानिनन् । यो त्यतिबेलाको ठूलो विद्रोह थियो । २१ वर्षको उमेरमा भारतको आसाम प्रवास र दोस्रो विवाह भयो । यो अर्को अझ ठूलो विद्रोह हो । ती श्रीमान्को पनि मृत्युभएपछि पुनः विवाह यो थप विद्रोह थियो ।
प्राप्त लिखत अनुसार योगमाया आफ्नै जन्मभूमिमा रहेर समाजका लागि केही गर्ने सामाजिक चेतनाको कारण छोरी मात्र लिएर वि.स. १९७३ (सन् १९१७) मा माइतमा आएपछि उनको विद्रोह आन्दोलनमा विकसित भयो । शास्त्रार्थ गर्ने, प्रवचन दिने, छुवाछुत, बाल विवाह, सती प्रथाको, दास प्रथाको, सानो पाथी—ठूलो पाथी, चर्को ब्याज आदिको विरोधमा योगमायाले आफूलाई उभ्याएको पाइन्छ । त्यतिबेला समाजमा प्रचलित यस्ता प्रथाहरूको विरुद्धमा बोल्नु चानचुने विषय थिएन । हाम्रो भूगोलको श्रमको क्षेत्र नै फरक रहेको हुनाले कारखानामा काम गर्नेभन्दा फरक अवश्य रह्यो, तर योगमायाको आन्दोलन सबै प्रकारका शोषण—उत्पीडनका विरुद्ध लक्षित रहेको हुनाले समग्र सामाजिक रूपान्तरणको आन्दोलन थियो, जसभित्र श्रमिक आन्दोलन अटाउन नसक्ने हुँदैन ।
योगमायाको आन्दोलन शोषणको अन्त्य भई कर्तव्य परायणता र मानव हितकारी धर्मराज्यको पक्षमा थियो । तत्कालीन शासकहरूले यस्ता मागहरूमा चासो नदेखाएपछि आत्मदाह गर्ने योजना बनाएकी योगमायाको पक्षमा अग्निदाहका लागि २४० जना अनुयायी तयार भएका थिए । यो सफल हुन सकेन । त्यसपछि असार
२२, १९९८ मा ६८ जना अनुयायाी सहित अरुण नदीमा जलसमाधि लिएको इतिहास छ । ठूला सहरमा नारा-जुलुस सहितको प्रदर्शन भएन, तर यति सम्मको यो विद्रोह कत्रो आन्दोलन हो ? यता ध्यान दिन आवश्यक छ ।
अन्यत्रको इतिहास हेर्दा आन्दोलनहरू राज्य सञ्चालकहरूको विरुद्धमा देखिन्छ । राज्यद्वारा वञ्चितिमा पारिएको सन्दर्भमा आन्दोलन उठाइएको देखिन्छ । तर, हामीकहाँ भने इतिहास संस्कृतिमाथि दोष थोपरेर शासकहरूलाई दोषमुक्त गर्ने प्रवृत्ति देखिन्छ । आन्दोलनको विषय उठ्नासाथ राजनीति, राजकीय विषयमा कम र संस्कृतिमाथि धावा बोल्ने प्रचलन बढेको छ । आधुनिक राज्यहरूको निर्माण र विकासपछि जनतालाई अधिकारसम्पन्न बनाउने, शोषण, उत्पीडन र अन्याय हुनबाट जोगाउने जिम्मेवारी शासक वर्गमा हुन्छ । आन्दोलाई इतिहास र संस्कृतिका विरुद्ध मात्र केन्द्रित गर्दा सत्ता र प्रतिपक्ष सबैतिरबाट ओँठे समर्थन पाइन्छ, तर परिणाम शून्य हुन्छ ।
संसारको विकासमा हरेक मानिसको सहभागिता छ, महिला र पुरुष दुवैको श्रमशील भूमिकाले नै मानवसमाज अघि बढिरहेको भए तापनि यसलाई त्यस रूपमा स्वीकार नगरिएको भूगोलबाट यो आन्दोलन सुरु भएको हो । भूगोलको पूर्वी गोलाद्र्धको तुलनामा पश्चिमी गोलाद्र्ध मानवसभ्यता विकासको दृष्टिले पछि रहेको छ । यसका पछाडि मूलतः यथास्थितिमा मानव बस्तीका लागि त्यहाँको भूभाग प्रतिकूल हुनु मुख्य कारण हो । यसले मानवसमाजको विकासका अनेक आयामहरूमा प्रभाव पर्नु स्वाभाविकै हो । पूर्व, खासगरी भारतीय उपमहाद्वीपको तुलनामा त्यहाँको (पश्चिम)मानवबस्ती नयाँ, सोच—चिन्तन र व्यवहार नयाँ, अधिकार र कर्तव्यका सिलसिला नयाँ, संस्कृतिको आरम्भ नयाँ र पछिल्लो हो ।
पूर्वका मानिसले आफूलाई आवश्यक पर्ने चिन्तन विकास गरेका छन् । आवश्यकतालाई विश्लेषण गर्ने दर्शन विकास गरेका छन् । जीवन र समाज व्यवस्थापन गर्ने आफ्नै शैली विकास गरेका छन् । यस क्रममा यहाँका मानिसहरूले गरेका संघर्षका स्वरूप अलि भिन्न प्रकारका रेहेको पाइन्छ । श्रम, सीप र पराक्रमसँग प्रत्यक्ष संलग्नताका अनेकौँ सन्दर्भ वेद तथा पुराणहरूमा पाइन्छ । यिनको प्रभाव समाज र संस्कृतिमा रहिरहेको छ । यस्ता कतिपय विषय जीवनोपयोगी शिक्षाको रूपमा, धर्मको रूपमा समेत रहेको अवस्था छ ।
सिंगो मानवसमाज गतिलोको माग, खोजी र आविष्कार गर्दै अघि बढिरहेको छ । मानवसमाज सधै नयाँमा बाँचिरहेको छ । दिन प्रतिदिन हरेकमा नयाँ परिमार्जन खोजिरहेको र गरिरहेको छ । गतिलोको अर्थ गतिशील रहेको भन्ने हुन्छ । यही गतिशीलतामा मानिसले सभ्यता निर्माण गरिरहेको छ र संस्कृति विकास गरिरहेको छ । यस क्रममा सधैभरि एकैनासको गतिशीलता रहेन होला, रोकियो होला वा थोरै पछिल्तिर धकेलिएको पनि होला । हरेक परिवर्तन सबैका लागि उत्तिकै हितकर हुँदैन र जसका लागि अहितकर हुन्छ, तिनले यस गतिलाई सके रोक्न र नसके मन्द पार्न प्रयास गरेका होलान् । यहीँनेर संघर्ष भयो होला । संघर्षको इतिहास जय-पराजय दुवैको इतिहास हो तर, विजयीले भोग गर्यो, आफ्नो इतिहास आफैले लेख्यो । पराजितले गुमायो, उसको इतिहास कमजोर बन्यो । अहिले पनि मानिसहरू ‘संघर्षका कथा’मा ‘सफलता’कै कथा लेख्छन् । विगतमा पनि कयौँ पटक यो सिलसिला दोहोरिएको अनुमान सहजै गर्न सकिन्छ ।
अधिकार र अधिकारका लागि गरिने आन्दोलन र त्यसप्रतिको समर्थन, सहानुभूति, सहयोग र ऐक्यबद्धताको लागि संकोच मान्न र संकुचित हुनुपर्दैन, तर हाम्रा आफ्ना पीडा छन्, बुझाइ छन्, भोगाइ छन्, सिकाइ छन्, उपलब्धि छन्, जय—पराजय छन् । यिनलाई सम्बोधन गरेर विश्वव्यापि बनाउन मिल्दैन र ? हाम्रा आफ्ना पीडा, बुझाइ, भोगाइ, सिकाइ, उपलब्धि, जय-पराजयको अनुवाद र संस्करणको यथार्थ पनि अरुले भनिदिनु पर्छ र ? नेपालमा संगठित आन्दोलनको सुरुआत गर्ने योगमाया र त्यत्रो ठूलो संख्यामा वहाँको नेतृत्वमा भएको जलसमाधिभन्दा ठूलो महिला आन्दोलनको इतिहास संसारभरिमा कुनै छ र ? त्यस्तो देखिँदैन । यद्यपि, यो १९०८ भन्दा पछिको घटना हो, तर यसको पृष्ठभूमि योभन्दा जेठो छ ।
अझ यसभन्दा अगाडिदेखि पुरुषप्रधानको विरुद्ध महिलाहरूले आफ्ना आवाज बुलन्द पारेका उदाहरण वेद, पुराण, महाभारत आदिमा प्रसस्त पाइन्छ । हामी अनमेल विवाहको सन्दर्भ खोतल्दा स्कन्दपुराणको स्वस्थानीकथामा वर्णित गोमा र शिवशर्माको विषय सम्झन्छौँ । पुरुष राजाले आफ्नी श्रीमतीलाई गरेको अन्यायका लागि रामद्वारा अग्निपरीक्षा गरिएकी र वनवास पठाइएकी सीताको प्रसंगलाई जोडतोडका साथ उठाउँछौँ । पुरुषको छली चरित्रलाई चित्रित गर्न विष्णुले वृन्दालाई झुक्याएको विषय उठाउँछौँ, यस्ता अन्य अनेकौँ प्रसंग कोट्याउँछौँ, तर जब महिलाहरूका विषयमा, श्रमिकका विषयमा, सचेतनता र संघर्षको विषय उपस्थित हुन्छ, राष्ट्रिय र अन्तर्राष्ट्रि दिवसको विषय आउँछ हामीले आफ्नोपन, आफ्नो भूगोल र आफ्नो इतिहास सर्लक्क बिर्सिदिन्छौँ ।न्याय, समानता र अधिकारका लागि विगतमा भएका सङ्घर्षहरू आजका पुस्तालाई प्रेरित गर्ने सङ्घर्षका लागि आधार हुन् । त्यसैले इतिहासले इतिहासकै दर्जा पाउनु स्वयं इतिहासलाई न्याय हो । हरेक न्यायिक आन्दोलन-सङ्घर्षहरूले इतिहासको सम्मान गर्नुपर्दछ । नेपालको महिला आन्दोलनले योगमायाका योगदानको स्मरण र सम्मान गर्नैपर्छ ।