हाम्रो समाजमा दिन प्रतिदिन परिवर्तन भइरहेको छ । यो परिवर्तन त्यसै आएको पनि होइन । कहिले परिवर्तन होला भन्दै पर्खेर बसेर आएको पनि होइन । भाग्यले ल्याइदिएको पनि होइन । यी सबै परिवर्तन मानिसका बल, बुद्धि र वर्कतले नै भएका हुन् । कुनै पनि परिवर्तनमा दृष्टिकोणको सर्वोपरि महत्व हुन्छ । दृष्टिकोणमा परिवर्तन नल्याई व्यवहारमा परिवर्तन आउन सक्दैन । व्यवहारमा परिवर्तन नआएसम्म प्रभावमा र प्रभावमा परिवर्तन नआएसम्म परिणाममा परिवर्तन सम्भव छैन । सबै मानिसको व्यक्तिगत जीवनमा समस्या र चुनौतीहरू हुन्छन्, सामाजिक जीवनमा पनि यो अनुभव गरिन्छ । राजनीतिमा पनि यस्तो हुन्छ । मानिसको जीवनका चुनौती के के हुन् त ? यसका उत्तर फरक फरक हुन्छन् । विषय उही भए पनि उत्तर फरक फरक हुन्छन् । किन ? किन कि मानिसका सोचाइ, हेराइ, बुझाइ फरक फरक हुन्छन् । सबैका साझा विषय भए पनि समस्या र चुनौतीलाई अभिव्यक्त गर्ने तरिकाहरू भने सबैका उस्तै हुँदैनन् । समस्या र चुनौती सबैका जीवनका अनिवार्य अङ्ग हुन् । जसरी मानिसका सबै अङ्ग देखाइँदैन, त्यसै गरी समस्या र चुनौती पनि जीवनका नकारात्मक पक्ष हुन् । नकारात्मक यस अर्थमा कि, यी मानिसका रोजाइका विषय हुँदैनन् । सबै चाहन्छन्, जीवनमा समस्या र चुनौती आउँदै नआऊन्, यस्तो हुन नसके पनि कमै मात्र आऊन् ।
कोही आफ्ना समस्या र चुनौतीहरूको बयान यस कारण गर्दछन् कि मानिसमा उत्साह छाओस्, सबैलाई पर्दो रहेछ भन्ने लागोस्, सामना गर्ने उपायहरू पत्तो लगाउन सकून्, मानिसको जीवनमा समस्याहरू आउँछन्, चुनौतीहरू आउँछन् । प्रयत्न, परिश्रम, जुक्ति, आँट, उत्साहबाट यिनलाई पन्छाउन सकिन्छ भन्ने धारणाहरूको विकास होस्, मानिस समस्याबाट नआत्तियोस्, चुनौतीहरूसँग नडराओस् । कोही यसको बयान फरक ढङ्गले गर्दछन् । समस्याहरूको, चुनौतीहरूको पहाड ठड््याउँछन् । यसलाई भयावह बनाउँछन् । मानिसहरू तर्सिने गरी यसको बयान गर्दछन् । मानिस आत्तिन्छन्, सानातिना समस्याहरूलाई पनि अजङ्गकै ठान्दछन् र चुनौती वहन गर्नुभन्दा भाग्नै सजिलो बाटो ठान्दछन् । मानिस पनि प्रवृत्तिका हिसाबले तीन किसिमकै छन् नि ! एकथरि चुनौतीसँग खेल्न रुचाउँछन्, अर्काथरि चुनौतीबाट भाग्ने असफल उपाय रोज्दछन् र अर्काथरि अवसर, संभावना तथा सफलताहरूमा ध्यान दिन्छन् ।
समस्या र चुनौतीको सामना गर्ने भनेको शक्तिको भरमा हो, क्षमताको भरमा हो । हरेक मानिसभित्र शक्ति छ, हरेक मानिस क्षमतावान पनि छ । शक्ति, क्षमता भन्ने कुरा सकारात्मक पक्ष हुन् । जतिसुकै कमजोर देखिए पनि मानिस कमजोरीका भरमा बाँचिरहेको हुँदैन । संसार कमजोरीमा टिकेको छैन । टिक्ने भनेको बलमा हो । हरेक मानिस आफ्ना क्षमताहरूको उपयोगले नै सफल हुने गरेको छ, कमजोरीहरूको प्रयोगले होइन । कमजोरीले कमजोरीलाई जति गुणा गरे पनि कमजोरी नै गुणनफल आउँछ, जस्तै: शून्य(०)ले जतिसुकै ठूलो संख्यालाई गुणा गरे पनि गुणनफल शून्य(०) आउँछ । शून्यबाहेकका अङ्कले गुणा गरियो भने जति ठूलो अङ्कले गुणा गरिन्छ, त्यति धेरै गुणनफल आउँछ । सोचाइको विषय पनि त्यस्तै हो । जति सकारात्मक सोच्न सकिन्छ, त्यति नै सकारात्मकता बढ्दछ । तर, यो सकारात्मकता भनेको बनावटी, आफैलाई गिज्याउनेखाले होइन, वास्तवमा नै भएका सकारात्मकताको खोजी गरिनु पर्दछ । मानिसमा भएका ससाना सकारात्मक पक्षहरूको जोडफल पनि ठूलो हुन सक्दछ । शून्य जतिसुकै जोडे पनि जोडफल शून्य नै हुन्छ ।
परिवर्तनको अभिव्यक्ति शब्दबाट हुन्छ !
नेपालको पछिल्ला राजनीतिक परिवर्तनको कुरा गरौँ । पञ्चायती व्यवस्था फालिएको सन्दर्भमा होस् वा गणतन्त्र आउँदा होस् । सबै राजनीतिक पार्टीका दस्तावेजमा राजनीतिक अवस्था फेरिएको कुरा उल्लेख भएको छ । राणाशासनको तुलनामा पञ्चायत, पञ्चायतको तुलनामा सुधारिएको पञ्चायत (२०३७—२०४६), सुधारिएको पञ्चायतको तुलनामा बहुदल, बहुदलको तुलनामा गणतन्त्र राम्रो र प्रगतिशील राजनीतिक अवस्था हो भन्ने कुरा स्वीकार गरिँदैआएको नै छ । यसरी मुलुकमा पटक पटक हरेक पूर्ववर्ती राजनीतिक अवस्थाभन्दा राम्रो परिवर्तन भएको कुरा सबैले स्वीकार गरिएकै विषय हो । यी राजनीतिक परिवर्तनसँगै नेताहरूका व्यक्तिगत जीवनको अवस्थामा परिवर्तन आएको छ । पञ्चायती कालमा देखिने नेता र बहुदल आएपछिका नेतामा कति धेरै परिवर्तन आएको छ ? बहुदल काल (२०४७—२०६३) का नेताहरू र २०६३ देखि यताका नेताहरूको जीवनमा परिवर्तन देखिन्छ कि देखिदैन ? तर पनि नेताहरूको आमअभिव्यक्तिमा अपेक्षित परिवर्तन आउन सकेको पाइँदैन । नेताको व्यवहार तथा अभिव्यक्ति आममानिसले अनुकरण गरिरहेका हुन्छन् ।
त्यसैले, अगुवाहरूको बोलीमा प्रेरणा हुनुपर्दछ । संषर्ष जारी छ, माटोमा मिलाएर छोड्छौँ, धुलो चटाउँछौँ, आँधीबेहरी सिर्जना गरिदिन्छौँ, हातमा दही जमेका छैनन्, चेतावनी दिन्छौँ, आदि आदि...........। यी र यस्ता अभिव्यक्तिले जोस दिन सक्छ । तर, होस र योजना दिन सकिरहेका हुँदैनन् र छैनन् पनि । संघर्षको अभिव्यक्तिले व्यवस्थापनको परिणाम दिन सक्दैन । बिरोधको अभिव्यक्तिले सिर्जनाको परिणाम दिन सक्दैन । विध्वंसको अभिव्यक्तिले निर्माणको परिणाम दिन सक्दैन । यो हामी देखरहेको र भोेगिरहेको यथार्थ हो । व्यक्तिगत होस् वा सामाजिक, पारिवारिक होस् वा राजनीतिक । अब हामीले अभिव्यक्तिमा सुधार ल्याउनै पर्छ । अभिव्यक्तिमा ल्याइने परिवर्तनले नै मानिसलाई रूपान्तरणतिर तान्न सक्दछ । ‘अब हुन्छ, गरेरै छोड्छौँ’ भन्ने अभिव्यक्तिले मात्र रूपान्तरण ल्याउन सक्दछ ।
निराश, हतास, रुन्चे, दिग्दार, थकित, आक्रोसित, विध्वंसकारी, सन्त्रासपूर्ण, पूर्वाग्रहीआदि अभिव्यक्ति र सोचाईका ठाउँमा सिर्जनशील, कर्मशील, प्रेरणादायी अभिव्यक्तिको अभ्यास गरौँ । रूपान्तरणका लागि सिर्जशील अभिव्यक्तिको अभ्यास गरौँ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)