images
images

सिद्धान्त, प्रक्रिया र अभ्यासका सन्दर्भमा जनताको बहुदलीय जनवाद

जनताको बहुदलीय जनवाद (जबज) पार्टी, राज्य र समाजलई अघि बढाउने वैज्ञानिक सिद्धान्त हो । यो सिद्धान्तको अभिव्यक्ति तीनवटा शब्दहरूबाट भएको छ ।  जनता—बहुदल—जनवाद ।    जनता भन्नाले त्यस्तो मानव समुदाय हो, जो शारिरीक तथा बौद्धिक श्रम गर्छ, उत्पादनमा प्रत्यक्ष सहभागी हुन्छ, राज्यलाई कर तिर्छ, कसैलाई शोषण गर्दैन, शोषणको विरुद्ध उभिन्छ, स्वतःस्फूर्त रुपमा संस्कार—संस्कृतिहरूको जगेर्ना गर्छ र विकास गर्छ । यो त्यस्तो समुदाय हो, जसले जीवनको आर्थिक मात्र होइन, नैतिक मूल्य खोज्दछ । यसको अर्थ हो—जनताआफ्नो  र आफू जस्ता मानिसहरूको पक्षमा समर्पित उत्पादक शक्ति हो । यो नै राज्यको सबैभन्दा ठूलो शक्ति र आधारभूत पक्ष हो । जो परिवारमा बाँच्दछ, समूहमा बाँच्दछ, समुदायमा बाँच्दछ र वृहत्तर समाजको सिर्जना गर्दछ र समाजमा बाँच्दछ । अनि, यो यसैको अविच्छिन्न पक्षपोषक हुन्छ । आमरुपमा भन्दा जनता त्यस्ता मानिस हुन्, जो अन्याय—अत्याचार गर्दैनन्, अन्याय—अत्याचार सहँदैनन् । कामको पारिश्रमिक लिन्छन्, कर्तव्यको नैतिक मूल्य मात्र खोज्दछन् । जनता भनेका शासनसत्तामा नबसेका सबै मानिस होइनन् । अरुमाथि शासन गर्ने, शक्तिको बलमा अरुमाथि अधिनायकत्वको उन्माद बजार्ने, अराजकताको भल बगाउने मानिस शासनसत्तामा नबसे पनि जनता हुन सक्दैन ।  

 

जनता विभिन्न परिस्थिति र परिवेशका कारण एकैथरि विचार, आचार, संस्कार, एकैथरि मूल्यमान्यताका हुँदैनन् । यिनमा चिन्तन, शैली र विचारमा विविधता वा बहुलता रहेको हुन्छ । यसले जनताको संगठित जीवनमा पनि प्रभाव पार्दछ र विभिन्न संगठन वा दलमा यिनीहरू संगठित हुन पुग्दछन् । यिनीहरू संगठित गतिविधिमा सरिक हुन्छन् । यो नै राजनीति हो र यसरी नै जनता राजनीतिमा लागेका हुन्छन् । राजनीतिक क्षेत्रका ठुलाठुला लाग्ने कामहरूको प्रस्थान बिन्दू यही नै हो । जनता सबै सचेत मात्रै, बुझकी मात्रै, हरेक ढंगले असल मात्रै हुन्छन् भन्ने होइन । जनतामा असल पक्ष खराबभन्दा धेरैगुणा बढी हुने कुरा सुनिश्चितै हो ।   

 

बहुदल भनेको त्यस्तो प्रणाली हो, जहाँ धेरैथरि विचार लिएका दलहरूले आप्mनै विचारका आधारमा राज्य र समाजलाई अघि बढाउने सङ्कल्प लिएका हुन्छन् । दलहरूले राज्य सञ्चालनमा नेतृत्वको अवसर प्राप्त गर्नका लागि प्रतिस्पर्धा गर्दछन् ।  निश्चित विधि अनुसार शासन—प्रशासन सञ्चालन गर्दछन् । बहुदलीय व्यवस्थामा आवधिक निर्वाचनको सुनिश्चितता गरिएको हुन्छ । कुनै दलले राम्रो गरे वा नगरेको आधारमा उनीहरूले निर्वाचन परिणाममा हारको सामना र जितको अवसर प्राप्त गर्दछन् । कामका आधारमा राजनीतिक दललाई जाँच्ने यो प्रणालीलाई नै बहुदलीय प्रणाली भनिन्छ । जनताबाट निरन्तर अनुमोदित भइरहनुपर्ने भएकोले दलहरू जनताप्रति उत्तरदायी हुन्छन् भन्ने मान्यताबाट हेर्दा यस्तो प्रणालीले जनताको हित गर्नैपर्ने देखिन्छ । यसमा अन्य थुप्रै विशेषताहरू पनि रहेका हुन्छन् । समकालिन विश्वमा सबैभन्दा राम्रो मानिएको प्रणाली बहुदलीय प्रणाली हो । यसमा कमजोर पक्ष नै छैनन् भन्ने ढंगले भने बुझ्नुहुँदैन । कुनै पनि पक्षको राम्रा पक्षहरू अँगाल्दै र नराम्रा पक्षहरू पर्गेल्दै जानुपर्दछ । सारमा, ‘बहुदल’ प्रणाली जनाउने शब्द हो ।   

 

जनवाद, जनताको समग्र हितहरूको पक्षमा, जनतालाई सर्वोपरि राखेर सञ्चालन गरिने जनताको राज्यसत्ता हो । यस्तो व्यवस्था, जहाँ राज्यको सम्पूर्ण नीति जनतालाई राज्यको मुख्य शक्तिमा रुपान्तरण गर्न उत्पादनका साधनहरू जनताको स्वामित्वमा हुँदै जाने गरी केन्द्रित गरिएको हुन्छ । सत्रुतापूर्ण अन्तरबिरोध तथा जनताभन्दा राज्य शक्तिशाली हुने अवस्थाको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा तथा आर्थिक, राजनीतिक र सामाजिक हिसाबले जनतालाई सशक्तिकरण गर्ने नीति, प्रक्रिया र अभ्यास केन्द्रित गरिएको हुनेछ । जबजमा जनवाद शब्द व्यवस्थाको अर्थमा ग्रहण गरिएको छ ।   

 

यी तीनवटा शब्दले बनेको जनताको बहुदलीय जनवाद नेकपा (एमाले)को सिद्धान्त   र कार्यक्रम हो । यसमा सिद्धान्त, कार्यक्रम र कार्यनीतिक गुण÷सार विद्यमान छ । यसका अनेकौँ विशेषता रहेका छन् । जबज न राज्यका निम्ति मात्र हो, न पार्टी सञ्चालनका निम्ति मात्र । यसले सिङ्गो पार्टीलाई निर्देशित गर्दछ । साथै, यसले राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण तथा व्यवस्थापनको लागि मार्गदर्शन गर्दछ, नेपाली समाजका विशेषताहरू एवं  परिस्थितिको विश्लेषण गर्दछ, योजना तर्जुमा गर्दछ र काममा खटाउँछ ।  जबजले राज्य र पार्टी सञ्चालनमा प्रतिस्पर्धा र पहलकदमीमा जोड दिन्छ । नेतृत्व राज्यको होस् या पार्टीको, प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेरै स्थापित हुनुपर्दछ । यसको यो सिद्धान्त वा मान्यतामा खोट छैन । तर, यसको व्यवहारिक प्रयोगमा भने अझ धेरै कुरा मिलाउनुपर्ने काम बाँकी नै रहेको देखिन्छ ।  

 

पार्टीको पछिल्लो महाधिवेशन वि.स.२०६५, फागुनमा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशन हो । यो महाधिवेशन नेपालका राजनीतिक पार्टीहरूकै लोकतान्त्रिक अभ्यासको इतिहासमा उदाहरणीय रह्यो । समावेशी सहभागिताको राम्रो अभ्यासका कारण अन्य पार्टीहरूले पनि यसको अनुकरण गर्न बाध्य भए । नेकपा (एमाले) को यो पक्ष अत्यन्त सकारात्मक, अनुकरणीय र लोकतान्त्रिक भएकोमा एमालेजनहरूले गौरव गर्नुपर्छ । जनवादी केन्द्रीयता भनेर केन्द्रीयतावादी जनवाद प्रयोगमा अभ्यस्त नेकपाका अन्य घटकहरूका लागि एमालेको यो प्रयोग  करिब करिब सिस्नोपानी हो भने लोकतन्त्रै लोकतन्त्रको धुन गाउँने ‘लोकतन्त्रवादी’हरूलाई पनि यो कोर्रा प्रहार नै भएको छ । 

 

नेकपा (एमाले)को बुटवलको यो अध्यासको परिणाम नेपाली काँग्रेसको महाधिवेशनका दौरान काठमाडौँमा प्रकट भएको छ । महाधिवेशन नै नगरी नेताहरूकै तजबिजमा जनवादी अभ्यास गरिरहेको सबैभन्दा ‘ठुलो’ पार्टीलाई पनि यसले भित्रभित्रै पोलिरहेको पो छ कि ? पार्टीमा फरक विचारजस्तो लाग्ने अभिव्यक्ति आउनासाथ अर्को पार्टी बनाइहाल्ने कामरेडहरूलाई त यतातिर सोच्ने फुर्सद नै पो कहाँ होला र ? जाति, भाषा, लिङ्ग, धर्म—सँस्कृति, क्षेत्रको समानताको गफ चुट्नु गाह्रो विषय होइन । तर, भाषामा भाषण गरिएका विषयलाई संख्याको अंकगणितमा ल्याएर व्यवहारमा लागू गर्ने विषय चानचुन विषय होइन । सिद्धान्तलाई व्यबहारमा दाँजेर हेर्ने रहर सबैलाई हुन्छ, तर आफैले लागू गर्नुचाहिँ कठिन काम हो । धुम्रपानको अभ्यस्त व्यसनीले अरुलाई त्यस्तो नहुन अर्ती—उपदेश या आदेश दिन सक्दछ, एकहदसम्म यो पनि राम्रै विषय हो, तर आफैले आफ्नो बानी सुधार्नु कठिन काम हो । केन्द्रीयता हाबी रहेको, केन्दीयता अनुकूलनको जनवादमा रमाइरहेका कम्युनिष्टहरूलाई जनवाद अनुकूलनको केन्द्रीयतातर्फको यात्रा अलिक उकालोउकालो लाग्नु स्वाभाविकै हो । समावेशी सहभागिताको अभिव्यक्ति र  सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने कठिन काममा एमालेले अगुवाई गरेकै हो ।   

 

नेताहरूको आपसी समझदारीमा र कहिलेकाँहि घुक्र्याएर समेत नेताको पदबहाली गर्ने बानी बसेको र खुला, तर स्वभाविक, स्वस्थ, स्वच्छ निर्वाचनको बानी नपरेकै कारणले पो हो कि, कतिपय नेताहरूलाई चुनावको माध्यमबाट नेतृत्व छनोटको विषय कार्यकर्ताहरूलाई दुई वा बढी कित्तामा बाँड्ने विषय मात्र लागिरहेको छ । जब कि सिद्धान्ततः कार्यकर्ताअनुमोदित नेता, जनअनुमोदित पार्टीको अवधारणा जबजको मुख्य विषय नै हो । 

 

बरु, नेताहरूले आफू निर्वाचित हुन जस्तोसुकै हतकण्डा अपनाउने, प्रतिस्पर्धी नेताको चरित्रहत्या हुने स्तरसम्मका विषयलाई चुनावी प्रचारको विषय बनाउने, पार्टीभित्रको चुनावको विषयलाई जीवन मरणकै विषय ठान्ने, आफ्नो पक्षमा मत प्रभावित पार्न असंभव आश्वासन समेत बाँड्ने, आपूmलाई मत दिएको वा नदिएको आधारमा घटिया दर्जाको व्यवहार र दृष्टिकोण राख्नेजस्ता काम नगर्न प्रतिबद्ध हुन जरुरी छ । चुनावको बेलामा जनवादको वकालत गर्ने र जिते निरंकुशताको मनपरि र हारे अराजकताको मनपरि, जे भए पनि मनपरि ? हो, यसैको विकल्प र समाधान हो—लोकतान्त्रिक सिद्धान्त र प्रक्रिया । 

 

क्षमताको विषय सबै मानिसमा बराबर हुन्छ भन्ने हुँदैन । तर, नेतामा भने केही बढी जिम्मेबारीबोध सम्मको क्षमता हुनैपर्दछ । कार्यकर्ताका बीचमा पुग्दा कार्यकर्ता जे बोल्छन्, त्यतैतिर ढलक्क हुने, निर्णय लिने बेला र ठाउँमा उदासीन, अन्यमनष्क... ! कार्यकर्ताका बिचमा पुग्दा पार्टी निर्णय र अनुशासनको डण्डे धम्की, न तर्क, न तथ्य, न उपाय, न जुक्ति..., निर्णय लिने बेला र ठाउँमा पछिल्लो पटक भेटिएका जनता र कार्यकर्ताको गुनासा र मागहरूको पूरापूर प्रभाव, देशकाल, परिस्थिति, राष्ट्रिय चिन्तन सबै गोलमाल...!! यस्तो प्रवृत्तिबाट भने पार्टी नेतृत्व जोगिन सक्नु पर्दछ । पार्टीमा प्रतिस्पर्धाको विषय पनि स्पष्ट हुन आवश्यक छ । प्रतिस्पर्धा चुनावमा मात्र कि,  काममा ? काममा प्रतिस्पर्धाको सूचक/मानक के हुने ? काम पनि कस्तो ? जसरीसुकै भए पनि काम फत्ते गर्ने कि, नीति—सिद्धान्तको पक्षपोषणलाई महत्व दिने ? तत्काल फाइदा हुने, पछि पछुताउनुपर्ने काम कि, दीर्घकालीन र रणनीतिक उपलब्धिको कामलाई महत्व दिने ? यस्ता विषयहरूतर्फ पनि ध्यान दिनु आवश्यक छ । 

 

प्रतिस्पर्धा क्षमता विकासको विषय हो । कार्यकर्ताको क्षमता विकासको विषय नेतृत्व विकासको विषय हो । तर, सक्षम बनाउने नभई पुल्पुल्याउने, संरक्षण गर्ने नभई उपयोग गर्ने, अवसर दिने नभई अनुदान दिनेजस्ता प्रवृत्तिले कार्यकर्ताको क्षमता बढाउन नसक्ने मात्र होइन, यस्तो प्रवृत्तिले त नेतृत्व विकासमा बाधा पु¥याउन सक्छ । जो, लोकतान्त्रिक राजनीतिक संस्कार, संस्कृति र अभीष्टको बाधक बन्न सक्दछ । यसतर्फ बेलैमा ध्यान दिन सके राम्रै होला । 
(लेखक नेकपा एमाले, केन्द्रीय स्कुल विभागका सचिव हुनुहुन्छ ।)