—राजेन्द्र आचार्य, बुटवल ।
मुकुन्द सेन प्रथमले वि.सं १६१० तिर छोराहरूलाई राज्य बाँडिदिएपछि पाल्पा राज्यबाट छुट्टिएर केही समय बुटवलमा छुट्टै सेन राज्यको स्थापना भयो । यसको हिउँदे राजधानी बुटवल फूलबारी र बर्खे राजधानी नुवाकोट किल्ला बन्न पुग्यो । बुटवलको फुलबारीमा भव्य रङ्गमहल बन्यो, जहाँ सेन राजा विनायक बस्न थाले । उनीपछि जसु, दामोदर, बलभद्र र अमर सेनले शासन गरे । अमर सेनको पालामा बुटवल–पाल्पा एउटै राज्य बन्यो । फुलबारीमा पानीको सुविधा, बुटवल नगरीभन्दा केही अग्लो टार र तुलनात्मक रूपमा केही सितलो पनि हुनाले राजधानी बनाइएको थियो । कैयौं कागजपत्र र इस्तिहारहरू रङ्गमहलमै लेखिएका र ‘मुकाम बुटवली’ भनी जारी गरिएका पाइन्छन् ।
फूलबारीको सिरानतिर हिन्दू—मुस्लिम समन्वयको प्रतीक मदार बाबाको ऐतिहासिक शिला पनि थियो । यसै बाटो उक्लेर माथि नुवाकोटको छेडामा पुग्ने निकै चालु मूल हुलाकी बाटो थियो । फुलबारीमा चतुर्बाहु विष्णुको मूर्ति, रङ्गमहलनेर नागको मूर्ति भएको कुरा पाल्पा राज्यको इतिहासमा उल्लेख भए तापनि ती पुरातात्विक सामग्रीहरू अहिले छैनन् । वि.स.२०२२ देखि २०२६ सम्म दोभान सिद्धबाबाको पहरो काटेर सिद्धार्थ राजमार्ग बनेपछि नुवाकोट निस्केर दोभान झर्ने पुरानो पैदल बाटो बिस्तरियो । प्रत्येक हिउँदमा लाखौँ गह्रौँ पाइलाहरूको घर्षणले चिल्लिएको ढुङ्गेनी बाटो बिरानियो ।
सिद्धबाबा मन्दिरको स्थापना
सिद्धार्थ राजमार्ग खन्दा पुरानो सिद्धबाबाको खोपो र कुटी फालिनेमा परे । यसलाई अलि दक्षिणतर्फ खोल्साको डिलमा रहेको चाउकोमा स्थानान्तरण गरियो । सिद्धबाबाको स्थान, शिवालय, नागस्थान र अन्यान्य देवदेवीका मन्दिरहरू बन्दै गए । पुजारी घर, धर्मशाला, अग्निकुण्ड आदि पनि बने । बुटवलबाट टाढा भयो र साँगुरो भयो भन्दै पछि पाल्पा र रुपन्देहीको सीमा खोल्सी चिडियाखोलाको डिलमा बुटवलतर्फ रहेको समथर थलोमा नयाँ सिद्धबाबा पनि निर्माण गरियो । अहिले त दुवै ठाउँमा दर्शनार्थीहरूको पहुँच बढेको छ ।
जितगढी किल्ला
अङ्ग्रेजी आक्रमणविरुद्ध जुझ्न नेपाल सरकारले देशका केही मुख्य स्थलहरूमा किल्ला गढी निर्माण गरेर सैनिक राख्ने गरेको थियो । त्यस्ता गढी किल्लाहरूमध्ये बाकुमगढी, सतगढी, गढवासमाथिको माथागढी, दाउन्ने गढी, शिवगढी, सिन्धुलीगढी, हरिहरपुरगढी, हतुवागढी, चिसापानी गढी, मकवानपुरगढी, जितगढी, काठेगढी, मलाउँको किल्ला, नालापानी किल्ला आदि थिए । तीमध्ये बुटवल जितगढी हान्न ठूलो शक्ति लिएर आएका अङ्ग्र्रेजहरूको धेरै क्षति भएको थियो । जित्न नसकी तिनीहरूले बुटवल क्षेत्र छाडेर भागेका थिए । अर्कोपल्ट उनीहरू आएर हमला गरे पनि हारेर भागे । कर्नेल उजिरसिंहको नेतृत्वमा रहेको बुटवल बेसीमा भएको किल्लालाई, अङ्ग्रेजी सेनालाई जितेर बसेको स्मृतिमा नामकरण गरिएको थियो र अद्यावधि गौरवका साथ त्यही नामले पुकारिन्छ । युद्धको बेला किल्लादेखि रङ्गमहल निस्कने र रङ्गमहलदेखि किल्लामा झर्ने सुरुङमार्ग थियो पनि भनिन्छ, तर यो उत्खनन गरेर पुष्टि हुन भने बाँकी छ । किल्लाभित्र अलि परसम्म सुरुङको अवशेष अहिले पनि देख्न सकिन्छ ।
अङ्ग्रेज सेना बुटवलबाट भागेर सैनामैनामा
प्राचीन कपिलवस्तुका चार महानगरमध्ये एउटा थियो सामग्राम वा सामगाम । यो सामगाममा पहिले मैन सँगालिन्थ्यो र मैनकर उठाएर पाल्पा/बुटवल राजधानीमा पठाइन्थ्यो । मैनकर उठाउने इजारेदार सेमलारमा पनि बस्थे र सिमलको भुवा जम्मा गरेर सेन राजाकहाँ पठाउँथे । सिमलको भुवा सङ्कलन केन्द्र भएको हुनाले त्यसको नाम सेमलार पर्न गएको भन्ने बुझिन्छ । नेपाल–अङ्ग्रेज युद्धपछि जितगढी, सिन्धुलीगढी जस्ता किल्लामा जिते पनि समग्रमा हारियो र सुगौली सन्धि गरी काली र मेची पारिका भूभाग गुमाइयो । वास्तवमा बुटवल क्षेत्र (बुटवल, शिवराज र पालिमाझखण्ड)कै जग्गा आफ्नो भनेर अङ्ग्रेजले निहुँ खोजी युद्ध थोपरेको थियो । जितगढी लगायतका किल्लाहरूमा नेपालीहरूले सीमित हातहतियार र सेना–रसदका बाबजुद ठुलो वीरता देखाए । सरदार भक्ति थापा जस्ता वीरहरूलाई बेइमान अङ्ग्रेजले सम्मान पनि गर्न पुगेको थियो । अन्यत्र हारिए पनि बुटवल, पालीमाझखण्ड र शिवराजमा हारिएको थिएन । यसकारण बुटवल र यस क्षेत्रको इतिहास वीरताले भरिएको छ, गौरवपूर्ण छ । यसै विजयको खुसियालीमा कर्नेल उजीरसिंहले पाल्पामा भगवती मन्दिर स्थापना गरी विजय जात्राको थालनी गरेका थिए, जो अद्यापि चालु छ ।
लुम्बिनी सन्देश र लुम्बिनी कलेज
बुटवलमा राजमार्गहरू बनेसँगै उद्योग, व्यापार र यातायात मात्र होइन, शिक्षा र सञ्चारको पनि स्थापना र विकास हुन थाल्यो । लुम्बिनी अञ्चलाधीशको
कार्यालय, अञ्चल पञ्चायत जस्ता संस्थाले पञ्चायतको समर्थनमा गतिविधि बढाउन चाहन्थे । तर पठित र सचेत युवाहरूले प्रगतिशील र लोकतान्त्रिक क्रियाकलाप गर्न खोजे । बिसको दशकमा, खासगरी बनारसमा पढेर आएका युवाहरूले पत्रिका चलाउने, स्कुल–कलेज र पुस्तकालय खोल्ने जस्ता काम गर्न थाले । मोदनाथ प्रश्रित समेतको नेतृत्वमा लुम्बिनी सन्देश, लुम्बिनी कलेज स्थापना गरिए । जीवराज आश्रित, बुद्धिबहादुर थकाली जस्ता जोधाहाहरूले स्कुल चलाउने, पढाउने, नाटक खेलाउने, वाम सङ्गठन निर्माण गर्ने, पुस्तकालय—वाचनालय खोल्ने र पत्रिका समेत छापेर पठन संस्कृति निर्माण गर्ने जस्ता अभियान चलाए । रामचन्द्र भट्टराई, अर्जुन ज्ञवाली, देवेन्द्र घिमिरे, भीमनारायण थारू, रामप्रसाद प्रदीप, प्रचण्डबहादुर बुढाथोकी आदिले साथ दिँदै गए ।
रेलिमाई सांस्कृतिक मण्डल र पचास रुपैयाँको तम्सुक
प्रश्रित, बुद्धि थकाली, आश्रित, लेखनाथ, भीम थारू, रामचन्द्र, रामप्रसाद प्रदीप, सीता थकाली, प्रचण्डबहादुर बुढाथोकी आदिको नेतृत्व र सहभागितामा बुटवलमा रेलिमै सांस्कृतिक मण्डल स्थापना गरेर पचास रुपैयाँको तमसुक नाटक प्रदर्शन गरी जनचेतना उठाउने अभियान बुटवल लगायत रुपन्देहीकै गाउँहरू, नवलपरासी, कपिलवस्तु पाल्पा, अर्घाखाँची, गुल्मी, भारतका सिलाङ र विभिन्न ठाउँमा बस्ने नेपालीहरूका बिचमा प्रदर्शन गरी प्रगतिशील चेत र व्यवहार विकास गर्ने प्रयास थालियो । यसले तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको निरङ्कुश पञ्चायती शासन प्रणालीलाई हल्लाउने सशक्त काम गऱ्यो । शासकहरूले अभियन्ताहरूलाई खोजी–खोजी पक्रने, यातना दिने, जागिर खाइदिने, जेल हाल्ने काम गरे ।
शिक्षा र सञ्चारमा मोफसलको राजधानी
बुटवल बहुमुखी क्याम्पस स्थापना तिसको दशकको सुरुमै भएपछि बुद्धिजीवीहरू बुटवलमा जम्मा हुन थाले । तानसेनको शैक्षिक उँचाइ बुटवलले लिन थाल्यो । ठुला निजी विद्यालयहरूमा पश्चिम नेपालका घरानिया र धनाड्य परिवारका सन्तानले पढ्न थाले । तीव्र गतिमा शिक्षाको विकास हुन थाल्यो । लुम्बिनी सन्देश, गुराँस, लाली गुराँस, माटो, जन सङ्घर्ष, भावना आदि साप्ताहिक, पाक्षिक, मासिक र पछि दैनिक समेत पत्रपत्रिकाहरू छापिन थाले । प्रेस स्थापना र सञ्चालन पछि छपाइमा पनि आत्मनिर्भरता बढ्दै गयो । बनारस, गोरखपुर पुग्नुपर्ने स्थितिमा आमूल परिवर्तन आयो । होराइजन, एभरेस्ट जस्ता स्कुलले कैयौंपटक प्रवेशिका परीक्षामा नेपाल टप गरे । पश्चिम नेपालका थुप्रै विद्यार्थीहरू बटुल्न सफल भए, तिनीहरूसित प्रतिस्पर्धा गर्दै अन्य शिक्षण संस्थाहरूले पनि आफ्नो स्तर वृद्धि गर्दै लगे ।
ढुङ्गा छापेको सडक कालोपत्रे
चालिस डिग्रीसम्म तापक्रम पुग्ने र समुद्र सतहदेखि मोटामोटी १८३ मिटर अग्लो बटौलीमा यो लेखक २०२३ सालको साउनमा सर्वप्रथम झर्दा गर्मीले आकुल व्याकुल भएको थियो, पसिनै पसिनाले नुहाएको थियो । सिद्धार्थ राजमार्ग तराईमा कालोपत्रे हुँदै र पहाडमा खन्दै गरेको अवस्था थियो । बुटवलदेखि भैरहवाको, ड्राइभरटोलबाट सोझै दक्षिण जाने पुरानो साँगुरो बाटो थियो । पहिलोपल्ट चिल्लो कालो बाटोमा बसमा गुड्न पाउँदा आनन्द लागेको सम्झना छ । अघि त ढुङ्गा छापेको बाटोमा थोत्रा जिप र लरी चल्थे रे, मेरा बा लीलाधर र आमा खगा २०१२ सालमा तीर्थ जाँदाका कुरा सुनाउनु हुन्थ्यो । बा १९९० तिर कालापानी तरेर म्यानमार जाँदा त नौतुनासम्म पैदल जानुपथ्र्याे रे ।
त्यहाँबाट रेलगाडी चढेर कलकत्ता गई सात दिन सात रातमा कोइलाबाट चल्ने इन्जिन भएको पानीजहाजमा याङ्गुन पुग्नुभएको रे । उहाँ अमिले ठुलारका हजारी साहु चिन्तामणि आचार्य र रहलका भुवानन्दसित जानु भएको रहेछ । म्यानमारबाट चाँदीका रुपियाँ एक हजारको तोडा बोकी ल्याएर लहना लगाएका हुनाले उनलाई हजारी साहु भन्दा रहेछन् । बर्मामा भन्दा श्यामका मुलुक (थाइल्यान्ड)मा धेरै कमाइ हुन्छ भनेर उहाँहरू त्यहाँ पनि पुग्नुभएको हो तर सोचेजस्तो कमाइ भएन रे ।
खेडेङ खुल्यो
म्यान्मारमा बहुमूल्य पत्थर पाइने खानीहरूमा काम गर्न यताका नेपालीहरू बटौली झरेर जाने र कैंयौं उतै पनि बस्ने रहेछन् । जेठा बा उमानन्दका ब्याइते छोरा खेडेङ गई उतै बसेर नफर्केका रहेछन् । खेडेङ खुल्यो भनेर थुप्रै नेपालीहरू जाने गरेका रहेछन् । लेखपढ गर्न सिकाउनु भएको भनेर बालाई एउटा बेरुवा औँठी पठाइदिएका रे, मेरो पढाइखर्च जुटाउन त्यो औँठी र जो रोँचे समेत वि.स.२०२५ सालमा बेचिएको रहेछ । मध्यम वर्गीय चिनो एउटा रोँचे पडेल्नामा नहुनाले भरङ्ग हुनपुग्यो । बुटवल, तत्कालीन बटौली—बुटवलीसँगको हाम्रो सम्बन्ध यस्तो रहेको छ ।
(लेखक इतिहास र संस्कृतिका अध्येता हुनुहुन्छ ।)