images
images

एमाले तनहुँले चलायो दुई दिवसीय प्रशिक्षण 

फागुन १८, बन्दीपुर, तनहुँ । 
नेकपा (एमाले) तनहुँ जिल्ला स्कुल विभागको आयोजनामा जिल्ला कमिटीका सदस्यहरू, पार्टीको पालिका कमिटीका अध्यक्षहरू र पालिकाहरूमा एमालेका तर्फबाट निर्वाचित प्रमुखहरूका लागि दुई दिवसीय प्रशिक्षण आज बन्दीपुरमा सम्पन्न भएको छ । नेकपा एमालेका उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रम उद्घाटनका क्रममा सहभागीहरूलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘नेपालको राजनीतिमा बढ्दै गरेको अवसरवादी र स्वार्थकेन्द्रित राजनीतिलाई पराजित गर्न आवश्यक छ ।’
सहभागी कार्यकर्ताहरूलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘नेकपा एमाले सत्तामा रहनु या नरहनु त्यति ठूलो विषय होइन, हामी जहाँ, जे जस्तो जिम्मेवारीमा छौँ, त्यहीँबाट ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूरा शक्ति र जिम्मेवारीका साथ लाग्नु पर्दछ । एमालेले एमालेको चिन्ता गरेर राजनीति गर्दैन; यसले जनजीविका, राष्ट्रिय हित, राष्ट्रिय अर्थतन्त्र निर्माणको अभिभारा पूरा गर्ने चिन्ता गर्दछ । सबै कमरेडहरू यही भाव र आसयका साथ जनताका बिचमा सक्रिय रहनुहोस् ।’
कार्यक्रममा नेकपा एमाले स्कुल विभागका विज्ञ सदस्य घनश्याम कोइरालाले कार्यक्रमको सहजीकरण गर्दै र प्रशिक्षणको औचित्य तथा महत्वमाथि प्रकाश पार्नुभएको थियो । सदस्य कोइरालाले भन्नुभयो, ‘प्रशिक्षणबाट ज्ञान, सीप, शैली त हासिल हुन्छ नै, तर महत्वपूर्ण विषयचाहिँ प्रवृत्तिमा सुधार ल्याउन सहयोग पुर्याउँछ । प्रशिक्षण पुराना विषयहरू दोहोर्याउने माध्यम नभई नयाँ विषयको खोजी र त्यसको सदुपयोग हो ।’
नेता प्रदीप ज्ञवाली, पार्टीका गण्डकी ईञ्चार्ज पदमा अर्याल, केदार सिग्देल, सीमा क्षेत्री र केन्द्रीय स्कुल विभाग सदस्य घनश्याम कोइरालाले विषयगत प्रशिक्षण दिनुभएको थियो भने सल्लाहकार परिषद् सदस्य एकबहादुर राना, केन्द्रीय कमिटी सदस्य कृष्ण पौडेलले आफ्ना  भनाइहरू राख्नुभएको थियो । 
पार्टी जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीमा देखिएका विकृति-विसंगतिहरू पालेर राख्न नहुने, स्वच्छ र अनुशासित बनाउनुपर्नेमा जोड दिँदै यो प्रशिक्षणले मिसन ग्रासरूटलाई सफल पार्न सहयोग पुर्याउँछ विश्वास व्यक्त गर्नुभयो ।  
कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला कमिटीका सचिव तथा स्कुल विभाग प्रमुख राजेश्वर ढाकालले, पार्टी जिल्ला कमिटी उपसचिव तथा स्कुल विभागका उपप्रमुख प्रदीप अधिकारीले स्वागत भाषण  र स्कुल विभाग सचिव शंकर रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।