- सूर्य बस्याल, दिल्ली
लाखौँ नेपाली युवायुवतीहरूले देश भित्रका विविध समस्याको जगमा जीवनको एउटा ऊर्जाशील समय भारत प्रवासमा खर्चिरहनुपरेको छ । तर जहाँ गए-रहे बसे पनि नेपालसँगै बोक्ने र नेपाली संस्कृति मै जिउने हाम्रो आचरण र स्वभावले नेपाल र नेपालीपनबाट अलग गरेको छैन ।
कर्मस्थल भारतप्रति सम्मान सहित राष्ट्रियता प्रतिको प्रवासी नेपालीहरूको समर्पणले नै प्रवासी नेपालीहरूलाई प्रवासी नेपाली संघ भारतमा आबद्ध गरेको छ । यो संगठन भारत प्रवासमा रहने लाखौं नेपालीहरूको साझा सङ्गठन हो । त्यसैले यसका सभा सम्मेलनहरू पनि साझा विचारको मञ्च हो । प्रवासी नेपाली संघ भारत आठौं अखिल भारत सम्मेलनको संघारमा छ । यसर्थ तपाईहरू समक्ष केही दृष्टिकोण एवं विचार राख्दै तपाइँहरूको सुझाव र सहयोग प्राप्त गर्नु हाम्रो दायित्व हो ।
सबैभन्दा पहिलो कुरा नेपाल र भारत बिचको सम्बन्धको आलोकमा प्रवासी जीवनका केस्राभित्र समस्या र समाधानका उपाय पहिल्याउन जरूरी छ । धेरैलाई अवगत नै छ, तत्कालीन ब्रिटिश इन्डिया र नेपाल सरकारबिच सम्पन्न सन् १८१६ को अपमानजनक सुगौली सन्धिले नेपाल-भारत दुई देशबिच आवत–जावतका लागि खोलेको ढोकालाई सन् १९५० मा स्वतन्त्र भारत र नेपाल सरकारबिच भएको शान्ति तथा मैत्री सन्धिले पनि निरन्तरता दियो ।
विशाल विकासशील भारत र विकासोन्मुख नेपालबिच सम्पन्न समान अवसर तथा समान प्रकृतिको सन्धिको परिणामले नेपालमा भारतको बौद्धिक र व्यापारिक वर्चस्व कायम भयो भने अशिक्षित र गरिब नेपालीका लागि भारत निम्न स्तरका काम गर्ने र थोरै आयले परिवारको पेट भर्ने कार्यस्थल बन्यो ।
यसरी भारतमा लामो समयदेखि नोकरी गरी बस्ने असङ्गठित प्रवासी नेपालीहरूलाई नेपाली वामपन्थी आन्दोलनबाट प्रभावित एकदेव आलेले सन् १९६६ को मई ५ मा प्रवासी नेपाली जनकल्याणकारी संघ निर्माण गरी एउटा सङ्गठित मञ्च प्रदान गर्नु भयो । त्यहाँदेखि अहिलेसम्म भारतमा प्रवासी नेपालीहरूका सयौँको सङ्ख्यामा वैचारिक, राजनीतिक, सामाजिक, जातीय र क्षेत्रीय सङ्गठनहरू गठन भएका छन् । फेरि पनि आज भारत प्रवासमा रहने प्रवासी नेपालीहरूको अवस्था, उनीहरूका भावना के कस्ता छन् र भोलिका लागि आन्दोलन किन र कसरी ? भन्ने यक्ष प्रश्न प्रत्येक प्रवासी नेपालीहरूको मन मष्तिष्कमा तरङ्गित छ ।
आज भारतमा तीनखाले नेपाली रहेका छन् । सन् १८१६ को सुगौली सन्धिले नेपाली भूभाग सहित भारतीय बनेका नेपालीहरू पूर्ण रुपमा भारतीय नागरिक हुन् र नेपाली भाषा, संस्कृति अवलम्बन गर्ने अल्पसंख्यक समुदायका रूपमा रहे पनि उनीहरूको देश भारत हो । विना भेदभाव भारतको संवैधानिक अधिकारको उपभोग गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो ।
नेपालबाट भारतमा आएर लामो समयदेखि भारत प्रवासमा बस्ने क्रममा यहीँ घरजम जोडी यहीँ नै सन्तान जन्मे, हुर्के, पढे, बढे । उनीहरूको सबै कुरा भारतमा नै छ । अब नेपालसँग भाषिक, सांस्कृतिक तथा पुख्र्यौली सम्बन्ध भए पनि उनीहरू भारतीयता स्वीकार गरी भारतमै बस्न चाहन्छन् । आफ्नो सम्पत्तिको संरक्षण चाहन्छन्, निडर भएर बस्न र बाँच्न पाउने प्रष्ट अधिकार भारत सरकारसँग चाहन्छन् । यस्तो भारतीय नागरिकताबाट मात्र संभव छ । तर उनीहरूका वंशज नेपाली हुन् । यो दोस्रो प्रकारका नेपाली हुन् । आज उनीहरूलाई बसोवास गरेकै देशको नागरिक अधिकार दिलाउन वैचारिक र सङ्गठित आन्दोलनको खाँचो छ । आज भारतमा नागरिकता कानुन र राष्ट्रिय नागरिक पहिचानको डिजिटल सस्करण सुरू भएको अवस्थामा यो विषय दिनानुदिन जटिल बन्दै आइरहेकोछ ।
तेस्रो प्रकारका नेपाली मा प्रवासी नेपालीहरु हुन । जसको घर नेपाल हो । उनीहरू कामको
खोजीमा, शिक्षाको खोजीमा यहाँ आएर बसेका छन् । नेपालको विकास, उन्नति, प्रगतिमा उनीहरूको योगदान छ । उनीहरू नियमित नेपाल आउने जाने गर्छन् । आर्जन गरेको पुँजी नेपालमै लगानी गर्छन् ।
आजको भारत १९५० को जस्तो भारत रहेको छैन । यसका धेरै नियम, कानुन परिमार्जित भएका छन् भने १९५० को शान्ति तथा मैत्री सन्धिका अधिकांस बुँदा – धारा लामो समयदेखि निस्क्रिय भइसकेका छन् । आज प्रवासी नेपालीहरू, जो लामो वा छोटो समयदेखि यहाँ बिभिन्न व्यवसाय वा नोकरीमा संलग्न छन् । उनीहरू नेपाली पहिचान वा नागरिकता बोकेर नोकरी गर्न, गरिरहेको काममा निरन्तरता दिन, व्यापार व्यवसाय गर्न, औषधिमुलो वा शिक्षा आर्जन गर्न र आफ्नो सम्पत्तिको संरक्षण र सहज हस्तान्तरण गर्न सक्ने अधिकार चाहन्छन् । यसका लागि दुई देशबिच समयसापेक्ष नयाँ सम्झौता हुन जरुरी छ । दुई देशको सहमतिमा रही-बसी आएका र आवत–जावत गर्न चाहनेको अभिलेख रहने गरी विशेष व्यवस्थापन गरिनु पर्दछ ।
भारतमा प्रवासी नेपाली आन्दोलन लामो समयदेखि सांस्कृतिक उत्थान, दुई देशबिच सम्बन्ध सुधार, सामाजिक सद्भाव र नेपाली राजनीतिक व्यवस्था परिवर्तनको अभियानमा होमिएको थियो । प्रवासमा रहेर पनि नेपाली राजनीतिक आन्दोलनका विभिन्न संस्करणका अभियन्ताहरू वि.स.२०६२-६३ को जनआन्दोलन र राजनीतिक स्थायित्वपछि राजनीतिक अधिकारबाट क्रमशः किनारा हुँदैछन् । सायद यो समय र परिस्थितिको उपज हो र प्रवासी नेपाली आन्दोलनलाई अब दलीय राजनीतिको सङ्कीर्ण दायराभन्दा माथि विशुद्ध आफ्नो प्रवासी अधिकार र रूपान्तरणको अभियान बनाउन जरुरी छ ।
यसअघि सँगैका अभियानकर्ताहरू सत्तामा पुगे पनि ‘खोलो तरी लौरो बिर्सेझै प्रवासी नेपाली आन्दोलनको इतिहासको तेजोबध निरन्तर जारी छ ।
आज प्रवासी नेपाली आन्दोलनका अगुवाहरू समाजिक वितृष्णाका पात्र मात्र होइन, सामाजिक, सांस्कृतिक, वैचारिक आन्दोलनमा पनि टुहुरा सरह बनाइएका छन् । त्यसैले भारतमा नेपाली पहिचान सहित सुरक्षा, सम्मान, सहज आवत-जावत, राष्ट्रिय अधिकार, मताधिकारको अधिकार र प्रवासी नेपाली आयोग मार्फत वास्तविक समस्या पहिचान, मार्गदर्शन र स्वदेशमा पुनस्र्थापित हुन संयुक्त माग र आन्दोलन आजको आवश्यकता बनेको छ ।
प्रवासी नेपालीहरूले व्यावसायिक सीप आर्जन र कमाएको अर्थलाई मितव्ययी खर्च र बचेको रकम नाफामूलक लगानीमा लगाउने र स्वरोजगारलाई बढाउने ज्ञान, सीपको विकास गर्दै अघि बढ्न जरूरी छ ।
भारतमा प्रवासी नेपालीका लागि आज जातीय, क्षेत्रीय सङ्गठन निर्माणको औचित्य छैन । किनभने भारतमा हाम्रो पहिचान नेपाली हो । हामी सम्मानित हुँदा अपमानित हुँदा समस्यामा पर्दा नेपाली भएको कारणले पर्छौँ । त्यसैले निदान पनि संयुक्त रूपमा नेपालीपन नेपालीमन र नेपाली एकतामा खोज्नु पर्दछ ।
व्यक्तिको वैचारिक स्वतन्त्रता र आस्थाको रक्षा प्रजातान्त्रिक अधिकार हो । तर आज नेपालमा व्यवस्था परिवर्तनको आन्दोलनको समाप्ति र गणतन्त्र स्थापनासँगै अब भारत प्रवासमा रहेका प्रवासी नेपालीहरूले अनेकन वैचारिक सङ्गठनभन्दा माथि उठेर प्रवासी नेपालीहरूका साझा सवालमा साझा अवधारणा बनाएर अघि बढ्न जरूरी छ । आउनुहोस्, दुई देश बिचका वर्तमान र दीर्घकालीन सम्बन्ध, समस्या निराकरणका उपायमा हातेमालो गर्दै अघि बढौँ । भारतमा प्रवासी नेपाली एकता कायम गरौँ ।
फेब्रुअरी १९—२१, २०२३ का दिनहरूमा भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित आठौँ प्रवासी नेपाली सम्मेलनमा आर्थिक, भौतिक तथा वैचारिक सहयोगका माध्यमबाट सहभागी होऔँ ।
(लेखक प्रवासी नेपाली संघ भारतको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।)