काठमाडौँ, १८ बैशाख:
आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । यस दिनलाई संसारका श्रमिकहरूले पर्वका रूपमा मनाउँदै आएका छन् । नेपालमा पनि पञ्चायती कालभरि यहाँका श्रमिकहरूले यस दिवसलाई आन्दोलनका रूपमा भूमिगत तरिकाले मनाउँदै आएका थिए । वि.स.२०४६ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि यो दिवस खुला रूपमा मनाउन थालिएको हो र यस दिन नेपाल सरकारले विदा समेत दिने गरेको छ । नेपालको सन्दर्भमा श्रमजीवी आन्दोलन र लोकतान्त्रिक आन्दोलन दुवैका लागि महत्वपूर्ण रहेको छ ।
महान् लेखक म्याक्सिम गोर्कीले संसारलाई प्राकृतिक तथा मानवकृत गरी दुई भागमा राख्नु भएको छ । प्राकृतिक विषय आफ्नो ठाउँमा छ । खासमा भन्ने हो भने मानिस प्रकृतिसँग नै संघर्ष गर्दै आइरहेको छ र प्रकृतिको संरक्षणका लागि पनि मानवजाति उत्तिकै सम्वेदनशील रहनुपरेको अवस्था छ । मानवकृत भनिएको संसार मानवसमाज र मानवजातिले निर्माण र अवलम्बन गर्दैआएको संस्कृति हो । मानवजातिको सुखसुविधाका भौतिक वस्तु तथा संरचनाहरूको निर्माण मानिसहरूको श्रमबाट सम्भव भएको हो । यस अर्थमा श्रम र श्रमिकहरूको भूमिका नै सुन्दर संसार निर्माणको आधार हो । शुद्ध प्रकृतिबाहेक हामीले उपयोग र उपभोग गर्ने सबैमा श्रमको भाग रहेको छ । मान्छे बनाउन प्रकृतिको देन भएजस्तै समाज बनाउन श्रमको भूमिका रहेको छ ।
श्रमिकका परिभाषा पनि फेरिँदैआएको छ । पहिले—पहिले कारखानाहरूमा काम गर्ने आधारभूत तहमा काम गर्ने जनशक्तिलाई मात्र श्रमिक अर्थात् मजदुर भनिन्थ्यो । त्यस परिभाषा अनुसार मैलोधैलो भएर काम गर्नेहरू मात्र मजदुर हुन्थे । पछि त्यसको परिभाषा फेरिएर पारिश्रमिक लिएर काम गर्नेहरू सबै श्रमिक हुन् भन्ने मान्यता स्थापित भयो । तर, श्रमिकलाई यी दुई परिभाषाले परिभाषित गर्न सक्दैन । आप्mनो जीविकाका लागि अरु कसैलाई नकज्याउने अर्थात् आप्mनो जीविकाका लागि आफै श्रम गर्नेहरू पनि श्रमिक हुन् । त्यति मात्र होइन; उत्पादन, निर्माण र सिर्जनामा संलग्नहरू सबै श्रमिक हुन् । भान्सा, भगवानको सेवा(मन्दिरका पुजेरी र त्यस्तो संस्थाका कामदारहरू), कला क्षेत्र, पर्यटन क्षेत्र, प्रकाशन—प्रेस, सुरक्षा लगायत सेवा क्षेत्रमा काम गर्नेहरू पनि श्रमिक हुन्— कामका सबै क्षेत्रमा काम गर्नेहरू श्रमिक हुन् । श्रमका हरेक क्षेत्रमा काम गर्नेहरू श्रमिक हुन् । यसरी श्रमको क्षेत्र व्यापक छ, श्रमको परिभाषा फराकिलो छ, श्रमिकको अर्थ पनि विस्तृत छ ।
शास्त्रमा भनिएको छ, ‘सौर्यमूलं स्वातन्त्र्यं श्रममूलं च वैभवम् । न्यायमूलं सुराज्यं स्यात् सङ्घमूलं महाबलम् अर्थात् स्वतन्त्रताको मूल पराक्रम हो । वैभव (समृद्धि—सुखसयल) को मूल परिश्रम हो । सुराज्य—सुशासनको मूल न्याय हो । विजयी—परिवर्तनकारी शक्तिको मूल सङ्गठन हो ।’ यहाँ स्वतन्त्रता, समृद्धि, सुशासन र विजयलाई लक्ष मानिएको छ । यी लक्ष प्राप्त गर्नका लागि पराक्रम, परिश्रम, न्याय, सङ्गठनको आवश्यकता औँल्याइएको छ । हामीले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यस विषयमा ध्यान दिन आवश्यक छ ।
शास्त्रमा रहेको श्रमको यस्तो व्यापक अर्थ थाहा नपाउँदा कारखाना—कुनै साहु (स्वामी—मालिक)को अधीनमा काम गरी ज्याला—मजदुरी लिनेलाई मात्र श्रमिक भन्ने अपरिपक्व र अपर्याप्त परिभाषा गर्न पुगेका हुन् । नीतिशास्त्रमा लेखिएको छ, ‘उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः । न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः अर्थात् जसरी सुतेको सिंहका मुखमा गएर मृग आफै पस्दैनन्, त्यसरी नै कार्यहरू पनि परिश्रमबाट मात्र सिद्ध—पूरा हुन्छन्, कामनाले मात्र पूरा हुँदैनन् ।’
यसरी मानिसका सबै मनोरथका लागि श्रमको उच्च महत्व रहेको विषय वेद, पुराण, नीतिशास्त्र आदिमा प्रसस्त छन् । ऋग्वेदमा भनिएको छ, यो जागार तमृचः कामयन्त...आदि अर्थात् जुन अग्नि बलेको हुन्छ, हुन्छन् तिनै अग्निलाई ऋचाहरू चाहन्छन्, तिनैलाई सामहरूले प्राप्त गर्दछन्, तिनै अग्निलाई सोमले मित्रतामा रहने हूँ भन्दछन् । यी सबैको तात्पर्य के हो भने श्रम—परिश्रमको उच्च
महत्व रहेको छ । त्यसैले हाम्रो संस्कृतिमा श्रम र श्रमिकप्रति उच्च आदरभाव रहँदैआएको देखिन्छ ।
तर पश्चिमी समाजमा, जहाँ औपचारिक श्रमलाई मात्र र त्यसमा संलग्नहरूलाई मात्र श्रमिक मान्ने गरियो । यस प्रकृतिको श्रमिकहरूले सन् १८८६ मा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा ठुलो आन्दोलन गरे । त्यस आन्दोलनमा श्रमिकहरूले ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’को माग गरे । यसको अर्थ स्पष्ट छ, कि त्यहाँ श्रमिकहरूले श्रम गर्नुपर्ने समय निर्धारित थिएन । श्रमिकहरूद्वारा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’को मागसहित सुरु गरिएको आन्दोलनमाथि त्यहाँ प्रहरी प्रशासनले व्यापक दमन गरेको थियो ।
सिकागो सहरको हे माकेटमा भएको बम विष्फोटको बहानामा प्रहरीले आन्दोलनकारी श्रमिकमाथि घोर दमन गरेको थियो । दमन गर्ने क्रममा चलाइएको गोली लागेर सात जना श्रमिकको त्यहीँ सहादत—मृत्यु भएको थियो । को सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । तर अन्ततः श्रमिक आन्दोलन सफल भयो । मृत्युभएका श्रमिकहरूको सम्मान तथा आन्दोलनले प्राप्त गरेको सफलताको सम्झना स्वरूप यो दिवस मनाउन सुरू गरिएको हो ।
विश्वका श्रमिक सङ्गठन र नेताहरूको सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न भेलाले यो दिवस विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय सन् १८९० देखि हरेक वर्ष मे महिनाको पहिलो दिन अर्थात् १ तारिखमा अन्तर्राष्ट्रिय स्तरमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । श्रमिकहरूका लागि यो दिन ऐतिहासिक र पर्वको दिन हो । औपचारिक सङ्गठित क्षेत्रको श्रमिक वर्गको आन्दोलनबाट सुरू भएको अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘मे दिवस’मा खुम्चिँदै गएको छ ।
यस अवसरमा नेपालको संविधानले प्रत्येक नागरिकका लागि सुनिश्चित गरेको रोजगारीको हक, उचित पारिश्रमिक, सामाजिक सुरक्षा समेत प्रत्याभूत गरेको छ । संविधानमा उल्लेख भएअनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न न्याय तथा समानतामा आधारित प्रावधानहरू कार्यान्वयनको सुनिश्चितता आजको मुख्य सवाल हो । श्रमजीवी वर्गलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु राज्यको दायित्व हो ।
स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न कृषि‚ वन‚ पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकासमा केन्द्रित हुन आवश्यक छ । यसो गरेर मात्र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुन सक्दछ र काम र मामको खोजीमा विदेशिन बाध्य लाखौँ नेपाली युवा श्रमशक्तिलाई देशभित्रै राख्न सकिने छ । उद्यमशीलता विकासका लागि पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुन्छ । हामी सबैले श्रमको सम्मान गर्ने संस्कृति निर्माण गर्नेतर्फ प्रयत्नशील हुनु अत्यन्त आवश्यक छ ।
श्रम भनेको रोजगारीको मात्र विषय होइन । श्रमिक भनेको वस्तु उत्पादन गर्ने मेसिन होइन । श्रम भनेको हाम्रो संस्कार हो । श्रमिक भनेको संसार बदल्ने शक्ति हो । आजको श्रमिक आन्दोलन वस्तु उत्पादन, भौतिक निर्माण र निजी जीवनयापनको सीमित दायराको क्रियाकलाप होइन । श्रमिक भनेका कलकारखाना र औपचारिक क्षेत्रमा महिना मरेपछि तलव—पारिश्रमिक थाप्ने मानिस मात्र होइनन् । अबको श्रमिक आन्दोलनले विगतमा प्राप्त भइसकेको ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’को गौरवगाथा गाएर र उत्सव मनाएर मात्र हुँदैन । श्रमिक निर्माण, उत्पादन, सिर्जना क्षेत्रका आधार शक्ति हो । यो शक्तिले स्वतन्त्रता—स्वाधीनता, समृद्धि, र सुशासनका लागि भरपर्दो शक्तिको रूपमा आपूmलाई उभ्याउन सक्नु पर्दछ । श्रमिकबाट स्वामी बनेकाहरूले श्रम र श्रमिक वर्गलाई सम्मान गर्ने श्रमसंस्कृति निर्माणमा थप योगदान गर्नुपर्ने देखिन्छ ।