images
images

स्थानीय सरकारका निम्ति गुणस्तर व्यवस्थापन प्रणाली ISO 18091:2019

कुनै पनि देशमा स्थानीय सरकार सबैभन्दा ठूलो सेवा प्रदायक संस्था हो । आफ्ना नागरिकको जीवनमा प्रत्यक्ष रूपमा असर गर्न विभिन्न सेवाहरू निष्पक्ष रुपमा प्रदान गर्नु मुख्य जिम्मेवारी बोकेर बसेका स्थानीय सरकारसँग अवसरका साथसाथै धेरै चुनौतीहरु पनि रहेका हुन्छन् । समाजका हरेक आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, राजनीतिक, नैतिक आदि पक्षहरुलाई सन्तुलनमा राख्दै जनताको अपेक्षा अनुरूप सेवा प्रदान गर्ने जिम्मेवारी बोकेको स्थानीय सरकारलाई कार्य सम्पादन गर्न पक्कै पनि सहज छैन । यस अवस्थामा स्थानीय सरकारहरुले उपलब्ध स्रोत र प्रक्रियाहरुलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नका निम्ति एक प्रणालीको रूपमा मिलेर काम गर्नु आजको आवश्यकता रहेको छ । यही सन्दर्भमा International Organization for Standardization (ISO) द्वारा विकसित स्थानीय सरकारका निम्ति गुणस्तर व्यवस्थापन प्रणाली (ISO 18091:2019) को बारेमा तल चर्चा गरिएको छ । 

 

ISO एक स्वतन्त्र, गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थामा हाल १६७ राष्ट्रिय स्तरका निकायहरूको सदस्यता रहेको छ । यस संस्थाले सदस्य राष्ट्रहरूको विशेषज्ञता र स्वैच्छिक सहमतिमा आधारित वैज्ञानिक, बजार सान्दर्भिक अन्तराष्ट्रिय मापदण्डहरु विकास गरी विश्वस्तरमा विद्यमान विभिन्न चुनौतीहरुको समाधान प्रदान गर्दछ । हालसम्म यस संस्थाले २४००० भन्दा बढी मापदण्डहरुको विकास गरिसकेको छ । नेपाल पनि सन् २०१४ देखि यस संस्थाको पूर्ण सदस्य रहेको छ । नेपाल गुणस्तर तथा नापतौल ब्यूरो (NBSM) नेपालको राष्ट्रिय मानक निकाय हो । पूर्ण सदस्यको हैसियतले नेपालले ISO का विभिन्न प्राविधिक र नीति बैठकहरूमा भाग लिएर र मतदान गरेर ISO मानक विकास गर्न सहयोग गर्नुका साथसाथै ISO का अन्तर्राष्ट्रिय मापदण्डहरुलाई बेच्न र आफ्नो देशमा अवलम्बन गर्ने अधिकार प्राप्त गरेको छ ।

 

(ISO 18091:2019) सार्वजनिक क्षेत्रमा निर्देशित पहिलो ISO मानक हो जसले स्थानीय सरकारमा ISO: 9001 को कार्यान्वयनका लागि दिशानिर्देशहरु प्रदान गर्छ । यसले स्थानीय निकायमा गुणस्तर व्यवस्थापन प्रणाली कार्यान्वयनका निम्ति आवश्यकताहरु परिपूर्ति गर्नका साथसाथै संस्थागत दिगोपन सुधार गर्दै स्थानीय अधिकारीहरूलाई उच्च स्तरको सेवा कायम राख्न मद्दत गर्दछ । यसले गुणस्तर व्यवस्थापन प्रणाली लागू गर्नका निम्ति निदानात्मक मोडेल र उपकरणहरू प्रदान गर्दछ जसले स्थानीय निकायहरुलाई प्रभावकारी र भरपर्दो सेवा दिनका निम्ति सहयोग पुर्याउँछ। यसले स्थानीय तहमा दिगो आर्थिक समृद्धि र सामाजिक विकासमा समेत टेवा पुर्याउछ। यसका केही प्रमुख फाइदाहरु यस प्रकार छन् : 

 

१.सरोकारवालाहरुको अपेक्षा अनुरूप वैधानिक र नियामक आवश्यकताहरु पूरा गर्नु,
२. नागरिकको सन्तुष्टि बढाउनका लागि अवसरहरू उपलब्ध गराउनु,
३. सम्बन्धित जोखिम र अवसरको पूर्व पहिचान गर्न र अवसरहरुलाई सम्बोधन गर्नु,  
४. संस्थामा गुणस्तर व्यवस्थापन प्रणालीका आवश्यकताहरु अनुरूप प्रदर्शन गर्ने क्षमता वृद्धि गर्नु आदि । 
 

यस ISO 18091:2019 का मापदण्ड अनुरूप गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाणीकरणले स्थानीय सरकारहरू आफ्ना नागरिक, करदाता तथा समुदाय प्रति उत्तरदायी हुन्छन् । यी मापदण्डहरुले अपेक्षित परिवर्तनहरूको व्यवस्थापन गर्न सक्षम छन्, जोखिमलाई सम्बोधन गर्न र देश र जनताको निरन्तर सुधारका निम्ति रूपरेखा प्रदान गर्न बलियो प्रणालीहरु हुन भन्ने कुरा प्रत्याभूति गर्दछ । यो मापदण्डको प्रयोग गरी स्थानीय निकायहरुलाई पारदर्शी, प्रतिबद्ध र जिम्मेवारपूर्ण तथा सशक्त संस्थाको रुपमा विकास गर्न सकिन्छ । स्थानीय निकायहरुप्रति बढ्दै गएको जन वितृष्णालाई न्यून गर्न यस किसिमको स्टाण्डर्डहरुको प्रयोग गर्ने दिशामा सबैले ध्यान पु¥याउनु आवश्यक छ । 
(लेखक आइएसओ प्रमाणिकरण गर्ने आइआइक्यूए नामक संस्थामा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।