images
images

बुद्ध विवाद र समस्या होइनन् !

(संस्कृति अध्येता तथा अभियन्ता ।)
अप्प दिपो भव अर्थात् आफै दियो बन ! यो गौतम बुद्धको सारगर्भित उपदेश हो । बुद्धले चार आर्यसत्य भनेका छन् । ती हुन् दुःख, समुदय, निरोध र मार्ग अर्थात् दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र निवारणका लागि उपाय छ । तर, यी सबै उपाय अरुले बुझेर र अरुले नै अवलम्बन गरेर हुँदैन । आफैले बुझ्नु र गर्नु पर्दछ । त्यसैले उनले भने, ‘अप्प दिपो भव !’

 

बुद्धको खोज र उनका उपदेशहरू अहिले बौद्धधर्म र बौद्धदर्शनका रूपमा विख्यात छन् । सिद्धार्थ गौतम बुद्ध हिन्दु र बौद्ध दुवै धर्म र संस्कृतिको समन्वयका प्रतीक हुन् । गौतम बुद्धको जन्म ई.पूर्व ५६३ मा अर्थात् आजभन्दा २५८५ वर्षअघि हाम्रो देश नेपालको लुम्बिनीमा भएको हो । नेपालमा जन्मेका गौतम बुद्ध नेपालका राष्ट्रिय विभूति र अन्तर्राष्ट्रिय व्यक्तित्व हुन् । बुद्धलाई हिन्दूहरूले भगवान विष्णुको अवतार र बुद्ध धर्मका संस्थापक हुन् । बुद्धका विषयमा संसारमा धेरैथरि अध्ययन भएको छ । धार्मिक हिसाबले पनि संसारको निकै ठूलो जनसङ्ख्या बौद्ध मतावलम्बी रहेको छ । बुद्धलाई गौतम बुद्ध, सिद्धार्थ गौतम, शाक्युमुनि बुद्ध आदि अनेकौँ नामले सम्बोधन गरेको पाइन्छ । इतिहास प्रमाणका आधारमा भन्नुपर्दा बुद्ध कपिलवस्तुका शाक्यवंशीय राजा शुद्धोदन र महारानी मायादेवीका सन्तान हुन् । 

 

मानिस मानिसभन्दा माथि उठेको मानिस बन्न ठुलै तपस्या गर्नुपर्छ भन्ने बुझ्न महामानव गौतम बुद्धको जीवनीबाट थाहा हुन्छ । बुद्धले गरेको तपस्या र उहाँले त्यतिखेर भोग्नुपरेको लाञ्छना सानोतिनो थिएन । आलोचना, लाञ्छना भन्ने कुरा सबैभन्दा नजिकका मानिसहरूबाट नै सबैभन्दा बढी हुन्छ भन्ने बुझ्न पनि अन्त कतै जानु पर्दैन । 

 

राजकुमार सिद्धार्थ गौतमबाट शाक्यमुनि बुद्ध, महात्मा बुद्ध, महामानव, शान्तिका अग्रदूत, भगवान बन्न उनले प्राण नै संकटमा पर्ने गरी कठोर तप गरेको प्रसंग छ । कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट बुद्धले शान्तिको मार्ग पहिल्याएका थिए । यसबिच उनको तपश्चर्याबाट प्रभावितहरूले उनको व्यावहारिक तथा सन्तुलित जीवनचर्याको आलोचना र निन्दा समेत गरेका थिए । निन्दा र आलोचनाबाट विचलित नभई, आदर्शबाट च्यूत नभई, सन्तुलित साधनाबाट सिद्धि प्राप्त गरेका बुद्धको गृह त्यागदेखि बुद्धत्व प्राप्ति सम्मको विषय नै बुद्धले गरेको तपःसाधना—तपस्या हो । 

 

बुद्धलाई कहिलेकाहीँ विवादको विषय बनाएको पाइन्छ । बुद्ध विवाद होइनन्, बुद्ध त समाधान हुन् । बुद्ध खोजी मात्र होइनन्, उपलब्धि हुन् । बुद्ध खोजीका अन्त्य होइनन्, खोजिरहन सकिने व्यक्तित्व हुन् । नाक—नस्लमा देखिने आर्य—अनार्यमा बुद्ध भेटिँदैनन् । बुद्धको खोजी जात, धर्म र नस्लमा खोज्नु र निष्कर्ष निकाल्नु बुद्धप्रतिको अन्याय ठहर्छ । महान् व्यक्तित्वहरू जात, धर्म, नस्ल आदिभन्दा माथि हुन्छन् । बुद्धलाई कसैको स्वीकारोक्तिको चुलीमा र अस्वीकारोक्तिको खाडलमा खोजिनु, तोकिनु र सीमित पारिनुहुँदैन । बुद्धलाई सबै देश, सबै जाति समुदाय, सबै नस्ल, सबै धार्मिक मान्यता भएका मानिसहरूले मानून् भन्ने सोच्नु पर्दछ । 

 

संसारले हरेक वर्ष वैशाख पूर्णिका दिन बुद्धको जन्म दिन मनाउँछ, हामी पनि मनाउँछौँ । बुद्धको जन्म, वंश, त्याग र उपदेशको चर्चा हुने गर्दछ । बुद्धलाई धर्म, वर्ण, अवतारसँग जोडेर पनि चर्चा गरिएकै हुन्छ । तर, के हामी बुद्धको जन्मभूमिका मानिसहरूले बुद्धलाई आफ्नो निजी, सामाजिक र राष्ट्रिय(राजकीय) जीवनमा अनुवाद गरेका छौँ ? के बुद्ध चर्चाका मात्र विषय हुन् ? के यिनी धार्मिक मत—मान्यताका विवादका विषय हुन् ? के बुद्धको खोजबाट हामी वर्तमान र भविष्यका लागि लाभान्वित हुन सक्ने मौलिक मार्गदर्शन फेला पार्न र त्यसलाई अवलम्बन गर्न सक्दैनौँ ? बुद्धको संकेतलाई हामीले हाम्रा समस्या समाधान र अवसर विकासको माध्यम बनाउन सक्दैनौँ ? यसतर्फ सोच्नु आवश्यक छ । अन्यथा बौद्धलाई खोक्रा आदर्शवादी कथा र उनको जन्मस्थलको सारहीन भग्नावशेषको कथामा सीमित पारेका हुनेछौँ ।  

 

बौद्ध साहित्यहरू अध्ययन गर्दा उनी राजदरबारमा रहँदैदेखि केही विशिष्ट गुणहरूको वर्णन पाइन्छ । बुद्धमा प्राणीहरू प्रतिको करुणा थियो । बुद्धमा सहनशीलताको गुण थियो । बुद्धमा त्यागको भावना थियो । बुद्धमा दृढ संकल्प थियो । बुद्ध संयमित र धैर्य थिए । बुद्धमा जिज्ञासु र अन्वेषक प्रवृत्ति थियो । उनी अन्तर्मुखी थिए । यी विषयलाई पुष्टि गर्ने अनेकौँ घटनाहरू कथाका रूपमा पढ्न पाइन्छ । 

 

हामीले प्रायः चर्चा गरिने र यहाँ चर्चा गरिएका बुद्ध गौतम बुद्ध हुन्, शाक्यमुनि बुद्ध हुन् । यसअघि पनि बुद्ध थिए । उनीहरूको यति चर्चा र स्वीकारोक्ति सीमित छ । बौद्ध दृष्टिमा यसअघि र पछिका को हो हुन् त ? जानी राखौँ । 
हिन्दुधर्मशास्त्रीय दृष्टिले हेर्दा बुद्ध भगवान विष्णुका नवौँ अवतारको रूपमा देखिएजस्तै बौद्ध दृष्टिले हेर्दा उनी एउटा खास अवतार हुन् । बुद्ध परम्पराका दृष्टिले सिद्धार्थ गौतम, गौतम बुद्ध, शाक्यमुनि बुद्ध २८ औँ बुद्ध हुन् । सबै बुद्धका नाम यस प्रकार छन् : १. तण्हकर बुद्ध, २. मेघंकर बुद्ध, ३. सरणंकर बुद्ध, ४. दीपंकर बुद्ध, ५. कोण्डञ्ञ बुद्ध, ६. मंगल बुद्ध, ७. सुमन बुद्ध, ८. रेवत बुद्ध, ९. सोभित बुद्ध, १०. अनोमदस्सी बुद्ध, ११. पदुम बुद्ध, १२. नारद बुद्ध, १३. पदुमुत्तर बुद्ध, १४. सुमेध बुद्ध, १५. सुजात बुद्ध, १६. पियदस्सी बुद्ध, १७. अत्थदस्सी बुद्ध, १८. धम्मदस्सी बुद्ध, १९. सिद्धत्थ बुद्ध, २०. तिस्स बुद्ध, २१. फुस्स बुद्ध, २२. विपस्सी बुद्ध, २३. सिखी बुद्ध, २४. वेस्भू बुद्ध, २५. ककुसंघ बुद्ध, २६. कोणागमन बुद्ध, २७. कस्सप बुद्ध, २८. गोतम बुद्ध हुन् भने अब हुने बुद्ध २९ औं हुन् र उनको मैत्रेय बुद्ध हुनेछ । (यी नामहरू प्राकृत भाषामा छन् ।) 

 

हरेक हिन्दुले विवाह, व्रतबन्ध, देवकर्म, पितृकर्म लगायतका कर्मकाण्डमा संकल्प लिँदा ‘श्रीश्वेत वराह कल्पे, वैवस्वत मन्वन्तरे, कलियुगे, बौद्धावतारे ....’ आदि उच्चारण गर्दछन् । हिन्दुधर्म शास्त्रानुसार बुद्ध भगवान विष्णुको कलियुगका अवतार हुन् । शास्त्रानुसार भगवान विष्णुका २४ अवतार छन् । यीमध्ये १० मुख्य अवतार छन् । यी १० मध्ये बुद्धलाई कलियुगको पहिलो र जम्माजम्मीमा नवौँ अवतार हुन् । ‘मत्स्य कूर्मो वराहश्च नारसिंहोद्रथ वामनः । रामो रामश्च कृष्णश्च बुद्धः कल्किश्च ते दशाः ।। अर्थात् मत्स्य (माछो), कूर्म (कच्छप÷कछुवा), वराह (बँदेल), नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि गरी दस अवतार छन् ।’ धर्मशास्त्र अनुसार अहिलेको युगको नेतृत्व बुद्धबाट भइरहेको छ । 

 

सिंगो युगका ‘प्रधान पुरुष’ मानिएका बुद्धबारे धार्मिक हिसाबले अन्यथा अर्थ लगाउनु सही हुँदैन । युग भनेको समयको ठूलो विभाजन हो । यस सम्बन्धमा विभिन्न मान्यताहरू रहेका छन् । संस्कृत भाषाको सुप्रसिद्ध नामकोश ‘अमरकोष’ अनुसार बुद्धका २५ नाम छन् । ती नाम यस प्रकार छन् : १. सर्वज्ञ, २. सुगत, ३. बुद्ध, ४. धर्मराज, ५. तथागत,  ६. समन्तभद्र, ७. भगवान्, ८. मारजित्, ९. लोकजित्, १०. जिन, ११. षड्भिज्ञ, १२. दशबल, १३. अद्वयवादी, १४. विनायक, १५. मुनीन्द्र, १६. श्रीघन, १७. शास्ता, १८. मुनि, १९. शाक्यमुनि, २०. शाक्यसिंह, २१. सर्वार्थसिद्ध, २२. शौद्धोदनि, २३. गौतम, २४. अर्कबन्धु, २५. मायादेवीसुत । यी बुद्धका नाम हुन् । 

 

यी सबै नामका विशेष अर्थ छन् । अमरकोशमा कोषबद्ध गरिएका यी नामहरूकै कारण पनि बुद्धलाई हिन्दूहरूद्वारा शक्तिशाली भगवान्को रूपमा स्वीकार गरिएको पुष्टि हुन्छ । यहाँ यो संक्षिप्त लेखमा यी सबै नामका गुह्यार्थ स्पष्ट पार्न संभव छैन, तथापि यिनले बुद्धका गुण, स्वभाव र सामथ्र्य वहन गर्दछन् भन्न हिचकिचाउन पर्दैन । 

 

हिन्दुधर्मशास्त्रसँग बुद्धलाई जोड्नुको तात्पर्य हिन्दूकरण गर्नु होइन, यसो गर्नु आवश्यक पनि छैन । संसारका सबैका लागि बुद्धको व्यक्तित्व र कृतित्व आफैमा महत्वपूर्ण छ । सनातन संस्कृतिका महत्व बढाउनकै लागि पनि बुद्धलाई हिन्दूकरण गरिरहन आवश्यक छैन । बुद्ध, केवल बुद्ध मात्र यस्ता मत प्रवर्तक हुन्, जसले आफ्ना पूर्ववर्ति व्यक्तित्वका कुनै विषयको आलोचना, विरोध र निन्दा गरेका छैनन् । अन्य मतका प्रवर्तकहरू खण्डन—मण्डन प्रवृत्तिबाट स्थापित भएका छन्, तर बुद्धबाट यस्तो भएको पाइँदैन । 
संसारमा फैलिएको बुद्धको प्रभावबाट केही पूर्ववर्ति मान्यताका पक्षधरहरूमाथि केही चोट परेको हुन सक्दछ र तिनको पुनःजागरणको प्रयास भएको सन्दर्भ पढ्न पाइन्छ । तर, परम शक्तिमान ईश्वर (भगवान विष्णु) स्वयंको अवतार हुन्छ भन्ने पुष्टि गर्ने कृष्णको यो कथन — यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्यूत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । अर्थात्, हे अर्जुन, जहिले जहिले धर्मको हानि र अधर्मको वृद्धि हुन्छ त्यति त्यतिबेला म आपूm स्वयं प्रकट हुन्छु । (श्रीमद्भगवत गीता, अध्याय ४, श्लोक ७) मान्यता राख्नेहरूबाट बुद्धलाई त्यस रूपमा स्वीकार गरिएकै छ । बरु, बुद्धको अवतार हुन त्यतिबेला धर्मको हानि भइरहेको, अधर्मको विस्तार भइरहेको विषयमा भने ध्यान दिन आवश्यक हुन्छ । बुद्धावतारको औचित्यको वस्तुगत अवस्थाको अध्ययन हुन आवश्यक छ । 

 

यही कुरा अवतार नमान्नेहरूले पनि बुद्धको त्याग, तप(साधना/खोज) र निष्कर्षहरूबाट शिक्षा लिन आवश्यक छ । खासगरी, बुद्धका यी निष्कर्षहरू — ‘बुद्धं शरणं गच्छामि अर्थात् ज्ञानको शरणमा जान्छु, ज्ञानलाई सर्वोपरि महत्व दिन्छु । धम्मं शरणं गच्छामि अर्थात् धर्मको शरणमा जान्छु, नीति—नियम, आचरण, कर्तव्य आदिलाई स्वीकार र सम्मान गर्दछु । संघं शरणं गच्छामि अर्थात् संघको शरणमा जान्छु, मेलजोलमा बस्दछु, अर्काको दुःखमा साथसहयोग गर्न र आफ्नो असहजतामा सबैलाई सहभागी बनाउने व्यवहार आत्मसात गर्दछु ।’ यी निष्कर्षहरू मन्त्रका रूपमा स्वीकृत छन् । यति मात्र पर्याप्त छैन, यी निष्कर्षका पछाडि त्यतिबेलाको सामाजिक अवस्थाको सङ्केत गर्दछन् । ज्ञान, धर्म र सङ्घलाई सर्वोपरि स्वीकार गरी सम्मान गर्नुपर्ने आवश्यकताबारे सामाजिक अध्ययन गरेर नै बुद्ध यस निष्कर्षमा पुगेको सहज अनुमान गर्न सकिन्छ ।  

 

हुन त बुद्धका यी निष्कर्ष कालजयी छन् र त बुद्ध कालजयी छन् । बुद्धको उपदेशमा रहेको आर्य अष्टाङ्ग मार्गको ‘१.सम्यक दृष्टि २. सम्यक संकल्प ३. सम्यक वचन ४.सम्यक कर्म, ५. सम्यक आजीविका ६.सम्यक व्यायाम ७. सम्यक स्मृति ८. सम्यक समाधि’ लाई वैयक्तिक जीवनदेखि राष्ट्रिय स्तरका योजना तर्जुमा गर्न उपयोग गर्न सकिन्छ । दृष्टिकोण, दृढ संकल्प, सन्तुलित र संयमित वचन, निरन्तर सत्कर्म, सदाचारमा आधारित आजीविका, स्वस्थ शरीर, स्मरणशीलता, सन्तुष्टिका विषयले गरेको स्पष्ट र सारभूत मार्गदर्शन हामीले ग्रहण गर्न सक्नुपर्ने होइन र ? 

 

यी विषय उपदेश र प्रवचनका मात्र विषय होइनन्, व्यावहारिक जीवनका उन्नतिका लागि वैज्ञानिक मार्गदर्शन हुन् । बुद्धको जाति, वर्ण, वंशको हिसाब गरेर, कसैसँग फरक देखाएर होइन, बुद्धको जीवनी र जन्मस्थल मात्र होइन; बुद्ध सनातन र वैशिष्ट्य दुवै दृष्टिले हाम्रा मार्गदर्शन हुन् । कम्तीमा बुद्ध हिन्दु र बौद्ध दुवैका बराबर हुन् । यस मान्यताले हामी हाम्रो संस्कृतिका आधारहरू एउटै रहेको पाउने छौँ । यसबाट हामी ठूलो अन्तर्विरोधबाट मुक्त हुन सक्दछौँ । बुद्धलाई हिन्दुधर्मग्रन्थमा भेटिनुलाई, विष्णुको अवतारको रूपमा ग्रहण गर्नुलाई ‘हिन्दुकरण’ गर्ने सन्दर्भमा नभई बौद्ध र हिन्दुको मिलन बिन्दुका रूपमा बुझ्नु सबैका लागि श्रेयस्कर होला !

 

शाक्यमुनि बुद्ध—गौतम बुद्ध अघि पनि त्यति धेरै बुद्ध भए । तर, संसारले गौतम बुद्धलाई नै यति बढी महत्व दियो भन्ने हो । अवतारसँग जोड्नुको अर्थ पनि पौराणिक ग्रन्थका कथ्यलाई वैज्ञानिक तथ्यसँग जोड्नु हो ।  ‘अवतार’को समाज शास्त्रीय दृष्टिले विशिष्ट अर्थ छ । यसमा जीव विज्ञानको विषय पनि स्पष्ट छ । पानीबाट उत्पन्न जीवको प्रतिनिधित्व गर्ने माछोदेखि विशिष्ट अर्थ वहन गर्ने ज्ञान, धर्म र संघको माध्यमबाट पूर्ण सभ्य मानव समाजको उपदेश दिने बुद्धसम्मको मानव विकास क्रम बुझ्न सहयोग हुने विषय ‘अवतार’मा संश्लेलित रहेको तथ्य पुष्टि हुन्छ । बुद्ध जाति, वर्ण र वंशको हिसाबभन्दा उच्च हुन् । उनी प्रतिको विवाद र सीमितता मानवीय दुर्गुण हुन् ।