काठमाडौँ (अनलाईन बहस)
आई.सी.ए नेपाल र स्टीलवर्कर ह्युम्यानीटी फण्डको संयुक्त आयोजनामा महिला सफाईकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षाकोबारे एक दिवशीय कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा जनस्वास्थ्य विज्ञ रामशरण प्याकुरेलले आफ्नो मन्तव्य राख्दै कुनै पनि काम सानो ठूलो नहुने तर कामलाई कसरी राम्रो गरिन्छ, त्यो महत्वपूर्ण कुरा हो भन्नेबारे बताउनु भयो । उहाँले लैङ्गिक असमानताको कुरा उठाउंदै सफाईकर्मीहरुको आयस्तरमा सुधार ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा समाजमा उत्सर्जन हुने फोहोरको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारियो । सफाइकर्मीहरुले फोहोर नै मोहर हो भन्ने विश्वासका साथ फोहोर व्यवस्थापन गर्दा अनिवार्य रुपमा व्यक्तिगत
सुरक्षात्मक सामग्रीहरुको प्रयोग गर्नु पर्ने कुरामा जोड दिइयो ।
धेरै सफाईकर्मीहरुले दिनको १३—१४ घण्टा लगातार काम गर्ने गरेको भेटियो । सफाईको काम गर्दा कुकुरले टोक्ने तथा गाडीले हान्ने डर हुने कुरा उनीहरुले बताए । यो वर्गलाई सामाजिक सुरक्षाका प्रत्याभूति गर्नु पर्ने, बिरामी हुँदा बिदा व्यवस्था, बिमा, महिलाको सन्दर्भमा सुत्केरी हुँदा विदा सुविधा हुनु पर्ने बताउंदै महिला सफाइकर्मीहरुलाई परिचय पत्रको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिइयो ।
उक्त कार्यक्रममा कविता यादव, रोजिना आचार्य र अनुपा केसीले सहजकर्ताको भूमिका निभाउनु भएको थियो ।