images
images

प्रवासीहरूले नयाँ ढंगले सोच्न जरुरी 

—रामप्रसाद पराजुली, दिल्ली (भारत)
मानिस सामाजिक प्राणी भएको हुनाले आफ्नो समाजमा आफ्नो भाषा, साहित्य, संस्कृति तथा सभ्यताको पहिचान सहित बसोबास गर्ने गर्दछ । संसारको जुनसुकै देशबाट अर्को देशमा गई बसोबास गर्नेहरू पनि आफ्नो भाषा, धर्म, संस्कृति, साहित्यप्रति प्रेम गर्दछन् । 

इतिहासको विभिन्न कालखण्डमा र आजको आधुनिक विश्वबजारमा समेत एउटा देशको नागरिक अर्को देशमा जाने विषय स्वाभाविक हो । त्यसैले  यस्तो क्रम निरन्तर रहँदैआएको छ । भारत बाहेक अन्य सबै देशहरूमा जाने गरेका नेपालीहरूका बीचमा र भारतमा रहेका प्रवासी नेपालीहरूको बीचमा भिन्नता छ । नेपाल सरकारले पनि भारतमा रहेका प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणमा भिन्नता राखेको पाइन्छ । भारत प्रवासमा रहेका नेपाली समुदायहरूको बीचमा विभिन्न किसिमका संगठनहरू क्रियाशील रहेका छन् । तिनीहरूले आफ्नो ठाउँमा नेतृत्व गरेका छन् । नेपालीहरूका बीचमा सक्दो सहयोग सहित प्रवासी नेपालीहरूलाई एकत्रित र एकजुट गर्न सफल पनि भएका छन् । सबै संगठनहरूले आ—आफ्नो ठाउँमा नेपालीहरूका समस्यालाई सम्बोधन गर्दै राज्यका शिर्षस्थ तहका पदाधिकारीहरूसँग भेटवार्ता गर्ने, मागपत्रहरू बुझाउने  काम गर्दै आएका छन् । आआफ्नो तर्फबाट समस्यालाई बुझने, मूल्यांकन गर्ने, विश्लेषण गरी सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै आइरहेका छन् । 

यी सबैका बावजूद प्रवासी नेपालीहरूका समस्या समाधानका दिशामा ठोस र निर्णायक समाधानको खोजी भएको जानकारी पाइएको छैन । अब प्रवासी नेपालीहरूले अहिले सम्मका सोचाइ, बुझाइ, पहल, प्रयत्नहरू अपुग के हो ? किन हाम्रा कुरा सम्बोधन भएनन् ? भन्ने विषयमा थप गहिरिएर विचार विमर्श गर्नुपर्ने देखिन्छ ।  

नेपालमा अधिकार तथा स्रोतसम्पन्न स्थानीय सरकार छन् । प्रदेश सरकारहरू छन् । संघीय सरकार छ । जनताको समस्या समाधानका प्रयास ती ती ठाउँबाट अघि बढ्न सक्दछ । तर, त्यहीँका नागरिकका हैसियतले अर्काको देशमा बसिरहेका प्रवासीहरूको समस्यालाई सम्बोधन गर्ने निकाय कुन हो ? राजदूतावासको काम कूटनीतिक सम्बन्धमा सीमित देखिन्छ । हामी प्रवासीका हैसियत नेपालमा जोडिने सरकार कुन हो ? हाम्रो संस्थागत सम्बन्ध कोसँग हुने हो ?  यस विषयमा प्रवासी नेपालीहरूका संघसंस्थाहरूले गम्भीर रूपमा सोच्नुपर्ने भएको छ । 

सामान्यतः विदेशमा बस्ने नागरिकहरूको समस्यालाई सम्बोधन गर्ने सरकार संघीय सरकार नै हो । त्यसैले प्रवासी नेपालीहरूले नेपालमा जुनसुकै दल नेतृत्वको सरकार होस्, त्यससँग वार्ता—संवाद गर्न आवश्यक हुन्छ । यसका लागि प्रधानमन्त्री कार्यालय वा पराराष्ट्र मन्त्रालयमा प्रवासी डेस्क स्थापना हुनु जरुरी छ । सरकारको नेतृत्व गरिरहेका वा प्रतिपक्षमा रहेका दलहरूसँगको वैचारिक सम्बन्ध फरक होला । सबै राजनीतिक दलहरूले प्रवासीका विषयमा कुरा उठाइदिन पर्ने भएकोले राजनीतिक दलहरूसँग भेटघाट, ध्यानाकर्षण गर्नु स्वाभाविकै हो, तर सरकारको औपचारिक निकाय हुनु अनिवार्य छ । 

भारत प्रवासमा रहेर नेपाली राजनीतिक दलहरूका विचारमा सहमत हुनु स्वाभाविक विषय हो, तर उनीहरूकै झण्डा बोकेर, दलीय अभियानमा मात्र सीमित हुँदा अरुलाई प्रभाव पार्न सकिँदैन । अहिले करिब करिब त्यही नै भइरहेको छ । अब संगठन सञ्चालनका मामिलामा प्रवासी नेपालीहरूले अलि फरक र फराकिलो दृष्टिकोण अपनाउन आवश्यक छ । जो, जहाँ रहे—बसे पनि कुनै राजनीतिक दृष्टिकोण, आस्था, निष्ठा  राख्नु स्वाभाविक हो र यो सचेत नागरिकको कर्तव्य पनि हो, तर प्रवासी नेपाली समुदायका साझा समस्या समाधानका लागि साझा मनोविज्ञानका साथ अघि बढ्नु श्रेयस्कर हुने देखिन्छ । 

प्रवासी नेपालीहरुमा देश प्रतिको माया, देशभक्तिको भावना उच्च छ । यसमाथि टेकेर कसैले बनाउन खोजेको राजनीतिक क्यारियरको माध्यम बन्न आवश्यक देखिँदैन । साझा समस्याका लागि साझा पहल आवश्यक छ । मुलुकको राष्ट्रिय संकल्प— समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्नका पनि हामीले राजनीतिक अभियानमा कम र समृद्धिका विषयमा बढी योगदान गर्न सकिने विषयमा ध्यान दिन आवश्यक देखिन्छ । 
(लेखक प्रवासी नेता हुनुहुन्छ ।)