११ जेष्ठ, काठमाडौँ:
घनश्याम कोइराला, काठमाडौँ ।
मानिस बाँचिरहेका छन् । तर, जीवन के हो ? यस प्रश्नमा भने अल्मलिन्छन् । जीवन कस्तो छ ? ठिक ठिकै छ । जीवन कस्तो हुनुपर्दछ ? सुन्दर, समृद्ध र सुखी । जीवनका बारेमा प्रायः आउने प्रश्न र उत्तर यिनै र यस्तै हुन् । मानिसको र सबै प्राणीहरूको जीवनको एउटा ओल्लो छेउ जन्म हो भने अर्को पल्लो छेउ मृत्यु हो । जन्म र मृत्यु त मानिसको हात हुँदैन, यी दुई सत्यको बिचको समय जीवन हो । मृत्यु पर्खनु मात्र जीवन होइन, यी दुवैको बिचको साक्षी बनेर मात्र होइन, आफ्ना कर्म र अनुभूतिसाथ जिउनु नै जीवन हो ।
‘अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो ...?’ कवि धरणीधर कोइरालाले यस्तो लेख्नुभएको छ । वास्तवमा मानिसको जीवन अति नै सुन्दर छ, किन भने विविधतालाई सुन्दर मान्ने गरिएको छ र जीवन विविधताको सङ्गम हो । सुन्दरताको परिभाषा, सुखको परिभाषा पनि सबैको उस्तै हुँदैन अर्थात् जीवन बुझ्ने, जीवन जान्ने, जीवन धान्ने, जीवन जिउने विषय हरेक मानिसका फरक फरक छन् । तर, मानिसले जीवनलाई भाग्यको हातमा सुम्पिदिएर जीवनलाई आफू स्वयंभन्दा अलि पर सारेको पनि छ । भाग्यको भर छोडेर मानिस आफैले यसलाई आफ्नो जिम्मामा लिन सक्दा यो अझ सुन्दर बन्न सक्दछ । त्यसैले त शास्त्रमा भनिएको पनि छ, ‘दैवेन देयमिति का पुरुषाः वदन्ति अर्थात् कायर मानिसहरू दैवले—भाग्यले दिन्छ भनेर बस्दछन् ।’
मानिसले जन्मजात प्राप्त गरेका सुन्दरतालाई मात्र हेर्दा पनि मानव जीवनको सुन्दरता कम छैन, अझ निख्खर देखिन्छ । मानिसको जीवनका सुन्दर पक्ष हुन्— बोल्न सक्दछ, बुझ्न सक्दछ, गर्न सक्दछ, अरुलाई काम गराउन सक्दछ, हिँड्न सक्दछ, हेर्न सक्दछ, आफ्नो लागि र अरूका लागि समेत केही न केही गर्न सक्दछ, आर्जन गर्न सक्दछ, सञ्चय गर्न सक्दछ, निर्माण गर्न सक्दछ, सिर्जना गर्न सक्दछ । किन कि वास्तविक सुन्दरता भनेको मानिसको ज्ञान, सीप, क्षमता र यिनीहरूको समुचित उपयोग नै हो । किन कि हामी समग्र मानव जीवनको सुन्दरताको कुरा गरिरहेका छौँ, न कि मानिसका शरीर र अनुहारको सुन्दरताको ।
वास्तवमा जीवन के हो त ? यस विषयमा सबैको एउटै राय सम्भव छैन । मानिसले जीवन नचिनेर होइन, जीवन बाँच्ने, जीवन बुझ्ने दृष्टिकोण तथा यसलाई व्यक्त गर्ने शैलीमा रहने भिन्नताले गर्दा जीवनको परिभाषा नै फरक फरक पाइनु स्वाभाविक हो । कुनै पनि विषयलाई संसारका मानिसहरूले व्यक्त गर्ने शैली एउटै नहुनुलाई अनौठो होइन र अनौठो मान्न सकिँदैन ।
कसैले जीवनलाई दुःखैदुःखको सागर भनेको सुनिन्छ त कसैले जीवनलाई सङ्घर्ष नै सङ्घर्षको सिलसिला भनेका छन् । कसैले जीवनलाई काँडा नै काँडाको जञ्जाल भनेका छन् भने कसैले सुख र दुःखको सङ्गम पनि भनेका छन् । कसैले जीवनलाई अविरल यात्रा मानेका छन् । कसैले जीवनलाई खेलमैदान मानेका छन् भने कसैले जीवनलाई असल कामहरूका लागि पाइएको अवसर भनेका छन् । अरू कसैले अन्य केही पनि मानेका होलान् । जे होस्, जीवन संसारमा केही राम्रो गरेर देखाउने सुनौलो अवसर हो । र, यो खेर फाल्न नहुने विषय हो ।
जसले जेसुकै मानेका भए पनि जीवनलाई जीवन त सबैले मानेकै छन् । जीवनलाई जसरी हेरिन्छ, यो त्यस्तै देखिन्छ । दुःखैदुःखको किनाराबाट यसलाई हेरियो भने जीवनमा दुःखैदुःख देखिन्छ । अर्को किनाराबाट हेरियो भने यो फरक पनि देखिन सक्दछ । अतः भन्न सकिन्छ—जीवन के हो भन्ने विषय जीवनलाई कसरी हेर्ने भन्ने विषयसँग जोडिएको विषय हो ।
जीवनमा मानिस आफ्नो र आफ्ना प्रियजनको विवाहमा गएर नाचेको छ भने मानिसले आफ्ना प्रियजनको वियोग पनि बेहोरेको छ । कुनै छाक बेस्सरी मिठो मसिनो खाएको छ भने कैयौँ छाक भोकै सुत्नुपरेको पनि होला । यो पनि सबैलाई, सबैको जीवनमा एकनास हुने विषय होइन । मानिसलाई कसैले माया गरेका होलान्, कसैले सम्मान गरेका होलान् र कसैले निन्दा, घृणा र विरोध पनि गरेका होलान् । कहिले आहा ! भन्ने दिन आयो होला, कहिले आत्था भन्ने दिन पनि आयो होला । जीवनलाई कहिले पोल्यो होला । यसलाई कहिले काँडाले घोच्यो होला । कहिले यसलाई तुसारोले कठ्याङ्ग्रायो होला । तर, सधैँ यसै यसै मात्र भने पक्कै पनि भएन । कहिले सुगन्धित र सुकोमल फूलको स्पर्श पायो होला, कहिले पारिलो—न्यानो घाम पनि ताप्न पायो होला ।
जीवनसँग बिरक्तिएर, जीवनलाई सत्तोसराप गरेर, जीवनसँग थाकेर, जीवनसँग हारेर जीवन सुखमय हुन सक्दैन । वास्तवमा भन्ने हो भने जीवनका दुखाइहरूमा पनि सम्भावनाहरूको खोजी गर्नु नै जीवन हो । जीवन जीवनमा मात्र हुन्छ । जीवनभन्दा पर, जीवनभन्दा छुट्टै खोजेर जीवन पाइँदैन । कहिलेकाहीँ जीवनमा जे पाइन्छ सोझै वा त्यसको रूप बदलेर उपयोग गर्न सकियो भने जीवनको आनन्द भिन्दै हुन्छ ।
सम्भवतः तपाईँले हिन्दी भाषाको यो गीत सुन्नुभएको हुनु पर्दछ । गीतका यी हरफहरू भारतीय फिल्म अभिनेता देव आनन्द अभिनीत हिन्दी फिल्म ‘हम दोनों’ मा गाइएका हरफ हुन् ।
मैं जिन्दगी का साथ निभाता चला गया, हर फिक्र को धूएँ में उडाता चला गया ।
बर्बादियों का फिक्र मनाना फजुल था, बर्बादियों का जश्न मनाता चला गया ।
अर्थात् ‘म जीवनको सङ्गत गर्दै गएँ
सबै चिन्ता धुवाँमा उडाउँदै गएँ
बर्बादीको चिन्ता बेकार थियो
बर्बादीको उत्सव मनाउँदै गएँ ।’ जीवनको केही बान्की यी पङ्क्तिहरूबाट पनि पाउन सकिन्छ ।
हामी सामान्य मानिसहरूले मात्र होइन, ऋषिमुनिहरू, योगीहरू, तपस्वीहरू, दार्शनिकहरूले पनि जीवनभरि जीवनकै खोजी गरिरहे । वास्तवमा जीवन सुख र दुःख सहितको बाँचुन्जेलको अविरल यात्रा हो । यहाँ सङ्घर्ष छ, यहाँ विजय र पराजय पनि छ । पराजयमा पनि शिक्षा छ, विजयमा पनि बोझ छ । सुखको, विजयको कामना गर्न र प्राप्तिका लागि सङ्घर्ष गर्न सकिन्छ, तर पराजय र दुःखबाट भाग्न सकिन्न । दुःख सम्झेर जीवनलाई दुःखकै जिम्मा लगाइदिनुभन्दा यसका सुख र सन्तोषका पक्ष सम्झेर आनन्दित हुन र त्यस्ता दिनका लागि प्रयत्नशील रहनु नै बुद्धिमानी हुनेछ ।
भौतिक साधन स्रोत र अरुको नियन्त्रणमा रहेका आप्mनो भागका सुख सुविधाका लागि मानिस सङ्घर्ष गर्न सक्दछ । तर, आफैभित्रका सुख, खुसी, उत्साह, उमङ्गमा रमाउन पनि मानिसले जान्नैपर्दछ । भौतिक साधन स्रोतसम्पन्न मानिसहरू पनि पूरै सुखी, खुसी र उमङ्गित कहाँ छन् र ?
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको यी पङ्क्तिले जीवन बोध गर्न सहयोग गर्छ कि ?
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई, जानु कहाँ पढनु के गुरु को बनाई ?’
‘फुल्दो गुलाबबिच ज्ञान अनेक फुल्छन् उद्यानमा बस गई सब तत्व खुल्छन् ।’
उद्यान ? यो सिङ्गो समाज विविधताले भरिपूर्ण उद्यान नै त हो । यो सिङ्गो संसार अझ ठुलो उद्यान हो । प्रकृतिको उज्यालो, अँध्यारो, यहीँको सुखदुःख, जय, पराजय आदिबाट जीवन बुझ्न सकिन्छ । बुझ्नुको आसय हो, यसलाई फेर्न सकिन्छ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)