— ऋषि आजाद, बुटवल
सामाजिक मूल्य-मान्यता, संस्कृति सभ्यताको रङ नलागेको भोक, यौन र अहंले सञ्चालित हुने मानिस भर्टिकल हुन्छ । भर्टिकल व्यक्ति अहंकारी र स्वार्थी हुन्छन् । उनीहरू आफ्नो रूचि र चाहनालाई मात्र केन्द्रमा राख्छन् । अरुको विषयमा उनीहरूलाई खासै मतलब हुँदैन । अहं जान्ने, पराअहं थाहा नपाउने आलोकाँचा हुन्छन्, अर्थात् परिपक्व हुँदैनन् । यस्ता मानिसहरूमा आफ्नो पीडा अरुमा पनि हुन्छ भन्ने चेतना हुँदैन । अहिलेको सामाजिक समस्या भनेकै भर्टिकल समस्या हो । भर्टिकल दिमागले माथि-तल, सानो-ठूलो भन्छ । त्यसैअनुसार सुविधा र मान मर्यादा दिन्छ । यस्तो समस्या क्रान्तिकारी, लोकतात्रिक, समाजवादी सबै राजनीतिक नेतृत्वमा र यस्तो सोच भएकाहरूको शैलीमा देखिन्छ । उनीहरूको भर्टिकल चिन्तनका कारण पार्टीहरू पनि स्वार्थ समूहको रूपमा परिणत भएका छन् ।
तर सभ्यताको विकासको शृङखलासँगै मानिस होरिजोन्टल (समतलीय) बन्दै जान्छ । समाज, संस्कृति, अर्थराजनीतिक सबैमा समानताको बोध हुने, स्वतन्त्रताको अनुभूति हुने, सह-अस्तित्वको चाहना हुने र सहिष्णुताको व्यवहार हुने पद्धति समतलीय पद्धति हो । पूर्वीय संस्कृतिका आधारहरूमा यो जीवन दर्शनको रूपमा रहेको भए तापनि राज्य र सामाजिक संरचनाहरूमा यसको अभ्यास त्यति देख्न पाइँदैन । दृष्टिकोण र सिद्धान्तहरूलाई प्रविधिमा ढाल्ने सीप पश्चिममा प्रबल देखिन्छ । फ्रान्सेली राज्य क्रान्तिले ल्याएका मूल्य-मान्यताहरू नै होरिजोन्टल समाज निर्माणका मूल्य-मान्यता हुन् । यी मूल्यहरूको प्रवद्र्धन हाम्रो कर्तव्य हो ।
विगतमा स्वर्गीय कल्पनाका साथ स्थापना भएका समाजवादी किल्लाहरू समतलीय चिन्तन पद्धतिको अभावको कारण ढलेका हुन् । उनीहरूले राजनीतिक पार्टीहरूको सह-अस्स्तिव, समानता, स्वतन्त्रता कायम राख्न सकेनन् । क्रान्तिकालीन कडा फलामे अनुशासनको अभ्यासका कारण क्रान्तिकारी समाजवादीहरू अलि कट्टर रहे । समाजवादीहरूभन्दा पुँजीवादी भनिनेहरू आर्थिक, राजनीतिक सामाजिक सांस्कृतिक क्षेत्रमा स्वतन्त्र र उदार देखिए । त्यसैले उनीहरू स्थापित हुँदै गए र समाजवादीहरू विस्थापित हुँदै गए । पछिल्लो चरणमा समाजवाद र पुँजीवादको फ्युजन हुँदै छ । यसमा समाजवादका मूलभूत पक्षहरू जीवित राख्ने हो भने त्यो राजनीतिक स्वतन्त्रतासहितको समाजवाद हुनेछ । त्यो नै समतलीय समाजवाद हो । नेपालको संविधानले समाजलाई त्यही समाजवादतिर लैजानु पर्दछ ।
नेपालमा पछिल्लो पटक स्वर्गीय मदन भण्डारी सबै जातजाति, वर्ग, लिङ्ग, क्षेत्र, धर्म, भाषा, वर्ण र विचारका वर्ग र समुदायहरूलाई समानता, स्वतन्त्रता, सहअस्तित्व र सहिष्णुताका आधारमा पुनर्संरचना गरी बहुदलीय जनवादको परिकल्पनाका साथ अगाडि आउनुभयो । त्यसपछि नेपालमा समाज सकारात्मक दिशातिर गएको छ । आर्थिक तथा वितरण प्रणाली साँचो समाजवादी हो भने विपिको सिद्धान्त र राजनीतिक पद्धति पनि समतलीय समाज बनाउने हो । नेपालमा अहिले स्वतन्त्रता, समानता मसिनो रूपमा कायम हुने क्रममा छ । अब बन्दै रहेका ऐनहरू पनि समानताका आधारमा बन्दैछन्, बन्नेछन् । यही समानता नै समाजवादको आधार हुनेछ । समानताको अवसरले नै समाजवाद फक्रन्छ । हामीले बनाएको संविधान २०७२ समतलीय पद्धति अनुसार बनेको हो ।
नेपालमा समतलीय समाज निर्माणमा समाजका आर्थिक, राजनीतक, सामाजिक, सांस्कृतिक आयामहरू खोल्नुपर्छ ।
आर्थिक : अर्थतन्त्रमा हुने खाने र हुँदा खाने बिचमा खाडल छ । यो खाडलले समाजमा वर्गसङ्घर्ष चलेको छ । अझै पनि समाज रक्तरन्जित छ । सोच, विचार, व्यवहारलाई सच्याएर समतलीय समाजमा जान सकिन्छ । त्यो आधार हाम्रो संविधान हो । यो संवैधानिक ढाँचामा सबै हिँड्नुपर्छ । कम्युनिष्टहरू मात्र होइन, काङ्ग्रेस, माओवादी, राप्रपाले जिते उनीहरू पनि संवैधानिक प्रावधान विपरीत जान सक्दैनन् ।
विगतमा कम्युनिष्ट सत्ताले सबै उत्पादनका साधनहरू व्यक्तिहरूबाट खोसेर राष्ट्रियकरण गरी राजकीय पद्धति अनुसार उत्पादन गर्न थाल्यो । यो निरपेक्ष समानता थियो । मानिसको प्राकृतिक मूल चाहना विपरीत थियो । अहं, भोक र यौन स्वयंमा व्यक्तिको मूल गुण हुन् । त्यसको मूल उच्छेदन गर्न मिल्दैन । त्यसको व्यवस्थापन गर्ने हो । हुन त मानिसलाई प्राकृतिक चाहना अनुसार हिँड्न दिनु हुँदैन । प्राकृतिक चाहना नै भर्टिकल हो भनिसकेका छौं । तर पनि प्राकृतिक मूल उच्छेदन नगरी व्यवस्थापन गर्नुपर्छ । हामीले निजी क्षेत्रलाई निर्वाध अघि बढ्न दिने, सहकारीकरण-सामुदायीकरणलाई व्यवस्थित गरी सबैलाई समृद्ध बनाउनु पर्छ । यो समाजवाद र पूँजीवादको फ्यूजनको
युग हो । यही फ्युजनले उपरिसंरचना निर्माण गर्छ । यसरी भर्टिकल तल र माथि भएको आर्थिक असमानतालाई विभिन्न प्रक्रियाद्वारा समानताको तहमा राख्ने पद्धति नै समतलीय पद्धति हो ।
राजनीतिकः भर्टिकल आर्थिक आधारले निर्माण गरेको सामाजिक संरचनालाई समानतामा आधारित अर्थनीतिका आधारमा व्यवस्थापन गर्ने पद्धति नै राजनीति हो । राजनीतिले ऐन कानुनका आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रलाई सहअस्तित्व, समानता, स्वतन्त्रता र भाइचाराको आधारमा व्यवस्थापन गर्छ । सङ्घीय प्रणालीका आधारमा, धर्म निपेक्षताका आधारमा, आरक्षणका आधारमा पछि पारिएका वा परेका वर्ग र समुदायलाई सूक्ष्म व्यवस्थापन गरी समानताको आभास दिने काम राजनीतिले गनुपर्छ । राजनीतिक नेतृत्वमा समतलीयताको ज्ञान भयो भने उसले आवश्यकता अनुसार संविधान बदल्छ र ऐनहरू निर्माण गरी समाजलाई समतलीय बनाउँछ । पुराना पद्धतिहरू फेर्छ । पारदर्शिता र सुशासनको प्रत्याभूत गर्छ । बलियाबाङ्गाबाट हुने अपमान र शोषणको अन्त्य गरी सबैलाई सुरक्षा दिन्छ । सबैको पहिचान, सम्मानको उचित व्यवस्थापन गर्छ । विभेद, अपमान, शोषणको अन्त्यका लागि कानुन बनाउँछ । हाम्रो संविधान २०७२ ले यस्तो ढोका खालेको छ । यो संविधान समतलीय समाज बनाउन सक्ने संविधान हो । समतलीय समाज नै समाजवादी समाज हो ।
सामाजिक : समाजमा हुने भेला, बैठक, सभा, गोष्ठी आदिमा सबैलाई समानताको अनुभूति दिने सामाजिक व्यवस्था आवश्यक छ । रहन-सहन, रीतिरिवाज, परम्पराको व्यवस्थापनका लागि पनि समानताको बोध हुने गरी व्यवस्था हुनुपर्छ । आडम्बरी स्वभाव माथि र तल देखाउने चिन्तनको अन्त्य गरी समानतामा आधारित समाज बनाउन सामाजिक क्षेत्रमा काम गर्ने थुप्रै राजकीय निकायहरू, गैरसरकारी सङ्घ-संस्थाहरू छन् । तिनीहरूले समाजलाई समतलीय बनाउनु पर्छ । सामाजिक अगुवाहरूमा समतलीय चिन्तन हुनुपर्छ । उनीहरूले धनी, गरिबबिच, महिला-पुरुषबिच नेता-कार्यकर्ताबिच, काला र गोरा-बिच समभाव राख्ने आचरण निर्माण गर्नुपर्छ । विभेद, अपमान, छुवाछुत अन्त्य गरी सद्भावयुक्त समाज बनाउनुपर्छ । यसले मात्र समाजमा समतलीय सोचको विकास हुँदै जान्छ । समतलीय सोचले समाजवादको आधार निर्माण गर्छ । यो काम सामाजिक अगुवाहरूको हो ।
सांस्कृतिकः समाजलाई असल मूल्य-मान्यताले खारेर सज्जन बनाउने प्रक्रिया नै सांस्कृतिक पक्ष हो । संस्कारबाट संस्कृति बन्दछ । सास्कृतिक क्षेत्रमा शिक्षण, प्रशिक्षण, खेलकुद, प्रवचन, चाड-पर्वहरूको आयोजन, नृत्यहरू, पूजाआजाहरू, प्रार्थनाहरू, राजकीय उत्सवहरू पर्छन् । यिनीहरूको काम कोरा अर्थात् भर्टिकल मानिसलाई सभ्यता र संस्कृतिको जानकारी दिएर असल आदर्शवादी बनाउने हो । हाम्रो संस्कृति बुर्जुवाहरूको चङ्गुलमा फसेर आडम्बरी बनिरहेको छ । आडम्बरमै शान देख्ने, आडम्बरमै इज्जत देख्ने विकृति सुरू भएको छ । हाम्रो सम्बोधनशैली, हाम्रो मन्चीय आसनहरू, पूजाआरधनाहरू, चाडपर्वहरू भर्टिकल छन् । अभिजातहरूको चङ्गुलमा फसेका छन् । हुने खाने वर्गको सांस्कृतिक आडम्बरले कमजोरहरू तर्सिन्छन् र भड्किन्छन् । यही बुर्जुवाकरणले समाजमा असन्तोष फैलाएको हुन्छ । सांस्कृतिक पक्षमा काम गर्नेहरूले हाम्रो संस्कृतिलाई समतामूलक बनाउनु पर्छ । देख्दा समानताको बोध हुनु पर्छ । सांस्कृतिक समानताले नै समाजवादको आधार तयार गर्छ ।
आमरूपमा साम्यवादी-कम्युनिष्ट आन्दोलन समतलीय समाज बनाउने आन्दोलनका रूपमा बुझिन्थ्यो । तर, अहिले त्यस्तो पक्ष कमजोर र कहिलेकाहीँ त त्यो आन्दोलन दिशाहीन बनेको जस्तो देखिन्छ । राजनीतिक रूपमा क्रान्तिकारीजस्तो देखिए पनि आर्थिक, सामामजिक, सांस्कृतिक रूपमा भर्टिकल चिन्तन शैली व्याप्त छ । उनीहरुमा पनि आशा गरिएजस्तो समानताको व्यवहार छैन । कतिपय पाउलागी बाहुन-बाजेका सन्तानहरूको दिमागमा कुनै परिवर्तन आएको छैन । भाषण गर्ने सामथ्र्य बढ्यो तर व्यवहारमा परिवर्तन आएन । गरिब भएर मात्र पनि हुँदैन रहेछ । गरिब पनि धनी भएपछि साटो फेर्ने बनिदिन्छन् । हिजो राजाको सत्ता र शान खोसेर राजाजस्तै बनेको हुनाले हाम्रा नेताहरू जनताबाट टाढा भएका छन् । अहिलेको नेतृत्वले यही कुरा बुझेको देखिँदैन । तर पनि परिवर्तन अवश्यम्भावी छ, परिवर्तन हुन्छ । त्यो परिवर्तन हाम्रो पालामा नआए अरूका पालामा आउला । वास्तविक मानव सभ्यता भनेको समतलीय हो । भर्टिकल प्रवृत्तिहरू नासिँदै जाने छन् । समतलीय पद्धति, शैली र स्वभावहरू स्थापित हुँदै जाने छन् । त्यसैले, समतलीय अभियानलाई तीव्र पार्नु आजको आवश्यकता हो ।
(लेखक समतलीय अभियानका अभियन्ता तथा वरिष्ठ पत्रकार हुनुहुन्छ ।)