ललितपुर, अनलाइन बहस ।
यहाँ बोझे पोखरीमा रहेको सुन्दर सत्येश्वर महादेव, सत्यदेवी मन्दिर तथा मुचुकुन्द नागका बारेमा शास्त्रीय तथा ऐतिहासिक प्रमाण र पर्याप्त व्याख्याको अभावमा गुमनामजस्तो रहेको अवस्था फेरिने भएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा यस स्थानको पहिचान गराउने अध्ययनमूलक लेख सार्वजनिक भएको छ । यस स्थानमा साधना गर्दै आउनुभएका लेखक तथा सामाजिक अभियन्ता केशवप्रसाद चौलागाइँले आज ‘इबिदह (बोझे पोखरी), नागदेवता र सिद्धस्थल’ र ‘बोझे पोखरी(इबिदह), सत्यदेवी र साधना’ विषयक अनुसन्धानात्मक लेख सार्वजनिक गर्नुभएको छ । लेखक चौलागाईँले यस स्थलको प्रामाणिकता पुष्टि गर्न श्रीमद्देवीभागवत महापुराणका श्लोकहरूलाई प्रमाणका रूपमा प्रस्तुत गर्नुभएको छ ।
यहाँ आयोजित धार्मिक कार्यक्रममा लेखकद्वारा प्रस्तुत प्रमाणका आधारमा दुर्गा सप्तश्लोकी
मन्त्र पाठ तथा हवन गरिएको छ । यस कार्यबाट यो स्थल शप्तश्लोकी दुर्गा साधनाको सिद्धस्थलका रूपमा परिचित हुनेछ भन्ने स्थानीयको विश्वास रहेको छ । स्थानीय समाजसेवी सानुकाजी महर्जनले बताउनुभए अनुसार उहाँका गुरुले यहाँको नाग ‘मुचुकुन्द’ रहेको कुरा अनुसन्धानबाट समेत प्रमाणित हुने भएकोले यहाँ विशेष पूजा तथा संरक्षण गरिनुपर्ने बताइएको छ । अध्येता चौलागाइँले त्यहाँ मुचुकुन्द नाग रहेको स्पष्ट पार्दै काठमाडौँ उपत्यकाको १३ औँ नागतीर्थका रूपमा पुजिने विश्वास व्यक्त गर्नुभएको छ । यहाँका स्थापित भगवान शिवको सत्येश्वरनामलाई पनि यहाँ उल्लेख गरिएका मन्त्रले प्रमाणित गर्ने विश्वास लिइएको छ । यहाँको बारेमा प्राप्त प्रमाणहरूका आधार थप अध्ययन—अनुसन्धान गरी विश्वसनीयता बढाउन सक्दा सभ्यता विकासको विश्वसनीय स्थल बन्न सक्ने छ र धार्मिक, सांस्कृतिक पर्यटन स्थलको रूपमा यस ठाउँले योगदान गर्न सक्ने देखिन्छ ।