अहिले पनि हामीले हाम्रो समाजमा मानिसका गुण—दोषको लेखाजोखा गर्न पाएका छैनौँ, हामी त मानिसलाई जातपात, रङ्गरूप, लिङ्ग, वर्ण, भूगोलमा नापजोख गर्दै ठिक्क छौँ, साह्रै माथि उठेका रहेछौँ भने राजनीतिक दलसम्म । दलसम्मको कुरा अगतिलो होइन, वर्गीय हिसाबले राम्रै हो तर जहाँ मानिसले मानिसलाई नछुने प्रथा छ, त्यहाँ वर्गको हिसाब हुन त अलि पर्खनै पर्ने होला । जातको विभेद रहेसम्म वर्गका मानिसका बीचमा पनि त्यसैको प्रभाव रहने नै होला । अहिले पनि एउटा ‘वर्गीय दलित’ अर्को ‘वर्गीय गैरदलित’सँग सँगै उत्तिकै उँचाइमा ढुक्कले बस्न पाउँदैन, ऊ जे हो त्यही ‘जातको’ भएको हुनाले कमजोर ठानिन्छ, केही आरक्षित सहायक जिम्मेवारीमा खुम्चिन पर्दछ भने उसले कुन वर्गीय सिद्धान्तको सिद्धि प्राप्त गर्न सक्दछ र ? विषय को नीचो, को उँचो होइन; विषय उँचो र नीचोको हो । जसलाई सम्बोधन गर्ने शब्द नै, मायाँ गर्ने शब्द नै, स्थान दिने शब्द नै हेय छ भने समताबोध कसरी हुन्छ र ? एउटै परिवारका फरक योगदानका कारण फरक पहिचान बनाएकाहरूको योगदानको सम्मान गर्ने शब्द चयन ‘दलित’ उचित देखिँदैन । यसको अर्थ के होइन भने विगतमा अन्यत्र प्रयोग भएको ‘हरिजन’ जस्तो अतिउच्च शब्दले पनि सामान्यीकरण गरेको त देखिएन । पहिचानको शाब्दिक विकल्प पनि खोज्न आवश्यक देखिन्छ । तर, यसको अरु विकल्प नै नरहेको भने होइन ।
आज मार्च २१, विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस — अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवस । रङ्गभेद विरोधी आन्दोलन चलिरहेको दक्षिण अफ्रिकामा सन् १९५९ मा ७९ जना आन्दोलनकारीहरूलाई त्यहाँको औपनिवेशिक गोरा शासकहरूले हत्या गरेका थिए । हत्याको सम्झनामा यो दिवस मनाउन सुरू गरिएको हो। संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा ‘सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी’ पारित गरेपछि प्रत्येक वर्ष २१ मार्चलाई यस दिवसका रूपमा मनाइँदैआएको छ । सन् १९७१ मा नेपालले पनि यस सन्धिलाई अनुमोदन गरिसकेको छ। यसको पृष्ठभूमि हेर्दा यो आन्दोलनको रङ्गभेद विरोधी थियो। त्यहाँ सोझै गोराका विरुद्ध कालाजातिको अत्याचारको विषयकेन्द्रित नहुनु आफैमा खुला रूपमा बुझ्न सकिने गोप्य रहस्य (Open Secret) छ। हामीले विभेद विरुद्ध आन्दोलनको समर्थन र सम्मान गर्दा होस् या आफ्नै आन्दोलन अघि बढाइरहँदा होस्, यसतर्फ हेक्का राख्नु पनि उत्तिकै आवश्यक छ। विश्व सर्वजन संघ (वि.स.१९९७) का संस्थापक भगत सर्वजित विश्वकर्माले बनारसमा संस्कृतमा आचार्यसम्म पढ्नुभएको थियो भन्ने पढ्न पाइन्छ । यस क्रममा उहाँले वेद, पुराण, उपनिषद्को अध्ययन गर्नुभएको थियो । उहाँले धर्मको विरोध गर्नुभएन, बरु आफैले जनै लगाउनुभयो । छोराको नामकरण वैदिक रीतिले गराउनुभयो । उहाँले आफूलाई कहिल्यै दलित (शूद्र) स्वीकार गर्नुभएन । भगत सर्वजितले समाजमा रहेको जातीय र शासकीय कठिनाइहरूसँग जुझ्दै सामाजिक आन्दोलनलाई अघि बढाएको विषय सगौरव पढ्न पाइन्छ । ‘हिन्दु ग्रन्थमा विश्वकर्मा भनेको शिल्पी ब्राह्मण हो’ भन्ने सर्वजितले बालीघरे प्रथाका विरुद्धमा संघर्ष गरेर बालीका सट्टा नगद लिने पद्धति स्थापित गर्न भूमिका खेलेको प्रसङ्ग छ । अहिले यी विषय सामान्य लाग्न सक्छ, तर वि.स.२००७ अघि यस्तो गर्नु चानचुने विषय थिएन ।
विभेद विरुद्धका सबै आन्दोलन कुनै जातिविशेषले मात्र चलाउनुपर्ने आन्दोलन होइन, यो साझा समाजिक आन्दोलन हो । विभेद जुनसुकै नाममा किन नहोस् त्यो मानवता विरुद्धको कलङ्क हो । विभेद नभएको सामाजिक जीवन नै सभ्य जीवन हो, त्यस्तो समाज नै सभ्य समाज हो । तर पनि विभेदमा परेकाहरू नै सशक्त नभएसम्म अपेक्षित परिणाम प्राप्त हुन गाह्रैपर्छ । जसको सवाल उसको नेतृत्व हुनु जुनसुकै आन्दोलनको सफलताका लागि विभेद तथा उत्पीडनमा परेको समुदायकै नेतृत्व हुँदा वास्तविक परिवर्तन हुन्छ । यस्तो आन्दोलनले समाजका अन्य समुदायसँग चर्काचर्की गरेर नभई वास्तविकताबोध गराएर, साथ लिएर गर्दा सामाजिक सौहार्दता कायम रहन्छ र परिवर्तन मैत्रीपूर्ण हुन्छ ।
हाम्रो समाज घटना प्रभावित रहेको देखिन्छ । घटना त क्रिया नभएर प्रतिक्रिया होला नि ! यसले त समाजको चरित्र नै प्रतिक्रियामुखी बनाइराख्ने खतरा हुन्छ । बलात्कार हुन्छ, महिलाहरूको जुलुस । जातीय विभेद हुन्छ, दलितहरूको जुलुस । अरु पनि यस्तै यस्तै । घटना प्रतिक्रियामुखी त हुन्छ नै, अझ त्यसमाथि जघन्य हत्या ? यो त महाअपराध हो । हत्याबाट सधैका लागि सबै समस्या समाधान हुँदैन । प्रसिद्ध कथावाचक ‘वाचन शिरोमणि’ पं. नारायण पोख्रेल मारिएका हुन्, उनको बीभत्स हत्या भएको हो । कारण के थियो ? आखिर त्यसको परिणाम के आयो ? कथावाचन रोकियो ? झन् बढेको छ । अहिले जाजरकोटका नवराजहरूलाई जघन्य रूपमा मारिएको छ । यसले के सन्देश दिन्छ ? यी घटनाहरूबाट केही नयाँ शिक्षा लिन आवश्यक छैन ?
हाम्रोमा धर्म भनेपछि जे जस्तो कमजोरी भए पनि नछोड्ने या जति नै राम्रो भए पनि ओँठ लर्बराउने वा विरोधमा लाग्ने नकारात्मक अन्धविश्वासी मानसिकता पनि छ । इतिहासै त्यस्तो होइन, धार्मिक व्यक्तित्वहरूले सामाजिक राजनीति रूपान्तरणमा योगदान गरेको इतिहास पनि छ । जोसमनी सन्तपरम्पराका शशीधर स्वामीले धार्मिक अभियानकै माध्यमबाट जातीय विभेदको अन्त्य गर्ने भूमिका निर्वाह गर्नुभएको थियो । त्यहाँ ब्राह्मणवाद, जातिवाद, अवतारवाद, कर्मकाण्ड आदि थिएनन् । उहाँ आफू उपाध्याय ब्राह्मण भएर पनि आफ्ना शिष्यहरूलाई पनि जातीय पहिचानबाट अलग राख्न सबैको नामको पछिल्तिर ‘दिल दास’ जस्तै: श्यामदिल दास, निरषदिल दास, अच्युतदिल दास, धर्मदिल दास, सतदिल दास आदि नाम राखिदिनुभएको थियो । उहाँको शिष्य बनेका राजपरिवार, भारदारहरूले पनि आफ्नो नाम त्यसरी नै फेरेको पाइन्छ । जस्तैः राजा रणबहादुर शाह (निर्वाणानन्द), अमरसिंह थापाका छोरा जनरल रणवीर सिंह थापा (अभयानन्द) आदि ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको जनताको पहिलो सङ्गठन महिला जागृति संघ (वि.स.१९७४) का संस्थापक योगमायाले पनि धार्मिक सामाजिक अधिकारका विषयमा राणाशासकहरूको विरुद्धमा सामान्य आन्दोलन मात्र गर्नुभएन, ६८ जना महिलाहरू सहित जलसमाधि लिएको इतिहास छ । यहाँ पनि धर्मको विषय थियो, तर जातपातको विषय थिएन । योगमायाले सङ्गठित गरेको आन्दोलनले धर्म राज्यको स्थापनाको माग गरेको थियो ।
भारतमा हेर्दा पनि कबीर धार्मिक सन्त तथा कवि थिए । उनी न ब्राह्मण थिए, न जातिवादी । यहाँसम्म कि धेरैले भगवान मानेर पूजा गर्ने ‘शिरडीका साईँ’ कुन जात, कुन धर्मका थिए ? तर, उनी धार्मिक थिए र उनलाई नै भगवान मानेर, उनकै विशाल मन्दिर बनाएर, उनको मृत शरीर राखिएको स्थान ‘समाधि’मा पूजा भइरहेको छ । त्यहाँ हिन्दुका सबै जात र मुस्लिमहरू समेत जाने गर्दछन् । सही वा गलत जे होला, अवस्था यस्तै छ, विश्वास यस्तै छ । जाने र वा नजानेर धर्मप्रति मानिसको अगाध आस्था छ, निष्ठा छ । कतिले यसैलाई दुरुपयोग गरेर स्वार्थपूर्ति गरिरहेको पनि नदेखिने होइन। सदुपयोग, दुरुपयोग, इमान्दारी, बेइमानी सबैतिर छ । त्यसैले धर्मका विरुद्ध होइन, जातका विरुद्ध होइन; शोषण र विभेदका विरुद्ध सामाजिक आन्दोलन आवश्यक छ । धर्म स्वैच्छिक हो, व्यक्तिगत हो । मान्नु या नमान्नु आफ्नै खुसीको विषय हो, तर धेरैको आस्था—निष्ठामाथि प्रहार गर्नु सामाजिक सद्भावका दृष्टिले उचित हुन्न । उन्मादको जवाफ उन्माद हुन सक्दैन, हुनुहुँदैन ।
हरेकले आफ्नो लाई विशष्ठ ठान्ने अरुको लाई महत्व नदिने आन्दोलन न्यायिक आन्दोलन हुन सक्दैन
। हरेक आन्दोलनले इतिहासका राम्रा कुरामा टेक्नुपर्छ, अगतिला कुरा छोड्नुपर्छ । बाँदरले घाउ कोट्याजस्तो सधै एउटै घाउ कोट्याइरहनुको कुनै अर्थ हुँदैन । अब मानिसको अन्तर्राष्टिय जाति हुनेछ भन्दैआएकाहरू त्यस्तो हुने बेलामा छुट्टिने, छुट्याउने काममा लाग्नुहुँदैन । दलित शब्दको अर्थ दलनमा पारिएको वा दलनमा परेको भन्ने हुन्छ । शब्दको अर्थ मात्र हेर्दा यसले कुनै जाति वा समुदायविशेषलाई नभई वर्गविशेषलाई भनेजस्तो लाग्दछ । किन भने दलन विभिन्न किसिमका हुन्छन्, शोषण विभिन्न ढङ्गका हुन्छन् । शब्द जता र जति बटारेर, घुमाएर प्रयोग गरे पनि दलनको माध्यम शक्ति हो र शक्तिशालीले अशक्तलाई दलन गरेको हुन्छ, पहिले यही भएको हो र अहिले पनि यही भइरहेको छ ।
तर, चलन—चल्तीमा दलित शब्दको प्रयोग जातीय दलनमा परेका समुदायका लागि मात्र हुने गरेको छ । हाम्रो समाजमा यो अवस्था सबैभन्दा दर्दनाक रहेको छ । पशु—पङ्क्षीहरूको पूजा वा सम्मान गरिने संस्कृति भएको समाजमा मानिस अछूत हुने प्रथा कलङ्कपूर्ण छ, लज्जास्पद छ र सर्वथा त्याज्य छ । यसका लागि दोषि को त ? समाज ? समाजमा त हामी सबै छौँ । आर्थिक अवस्था ? आर्थिक अवस्थाले त छुत—अछुत भएको देखिँदैन त । शैक्षिक अवस्था ? यस्तो प्रथा अशिक्षितहरूका बिचमा मात्र सीमित छैन त । यसको जवाफ नै नभएको होइन, तर मानिसहरू भएको कुरा मात्र गरिरहेका छैनन् । मानिस रहस्य खोज्न रूचाउने प्राणी रहेछ, त्यसैले ऊ रहस्यमय कुरामा अलमलिइरहेको छ । केही मानिसहरू त वेद, पुराणलगायतका धर्मग्रन्थहरूलाई यो छुवाछतको दोष लगाइरहेका छन् । कोही कोही त हुँदा हुँदा ‘ब्राह्मण’ भनिने मानिसहरूलाई दोष लगाएर थाक्दैनन् । उनीहरू के बुझ्नतिर लाग्दैनन् भने जसरी उनीहरू कसको कोखमा जन्मने भन्ने कुरा उनीहरूको नियन्त्रणभन्दा बाहिरको विषय हो भने ‘ब्राह्मण’हरू पनि कोख रोजेर जन्मेका त होइनन् ।
वेदमा—‘यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः । भूम्यै पर्जन्यपत्न्यै नमोद्रस्तुवर्षमेदसे अर्थात्, जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका मानिस—विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवक—आनन्दले रहन्छन्, जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ’ (अथर्ववेद १२.१.४२) भनिएको छ । यस हिसाबले काम बाँडिएको त देखिन्छ, तर छुवाछुतको विषय देखिँदैन । यजुर्वेदमा ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्रलाई शरीरका भिन्न भिन्न अङ्गसँग जोडेर त भनिएको छ, त्यहाँ पनि छूत—अछूत भनिएन ‘गोडा’सँग जोडेको छ, तर अस्पृश्यता होइन, बरू गोडामा ढोग्ने संस्कारले त्यसको प्रायश्चित्त नै गरेको छ । शिक्षा, ज्ञान(बोलीसँग सम्बन्धित), राज्य सञ्चालन (शक्ति र युक्तिसँग सम्बन्धित), व्यापार(संकलन, उत्पादन र वितरणसँग सम्बन्धित), सेवा(ढुवानी/भारवहन आदिसँग सम्बन्धित) गरी मूलतः चार प्रकारको कार्यविभाजन भएको पाइन्छ । ती समयमा कार्यगत विविधता र भिन्नता देखिन्छ, तर तिनका स्थायी आधार जात—जाति नै थिए भन्न सकिँदैन । ‘चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः’ गुण र कर्मको विभाजनका आधारमा चारवर्ण सृष्टि गरिएको कुरा छ । (गीता ४।१३) जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जाति विभाजन गरिएको छ । सबै प्राणी ब्रह्मष्बाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्ब्राह्मणभन्न सकिन्छ र ? शान्त, संयमी र दयालु स्वभाव भएपछि नै यी गुणले ब्राह्मण हुन्छ । संसारको रक्षा गर्नमा सिपालु, शूर, संयमी, पराक्रमी दुष्टलाई नाश गर्न सक्ने भएपछि ऊ नै क्षत्रिय भएको हो भनिन्छ । किनबेचमा कुशल, जो सधैँ व्यापारमा लागिरहेको पशुको रक्षा गर्ने, खेतीको काम गर्ने जति हुन्छन् ती सबै संसारमा वैश्य भनेर चिनिन्छन् । द्विजातिको सेवामा लागेका, शूरवीर, शान्त, संयमी, कृषिकार्य र भारी बोक्नेहरू शूद्र नामले चिनिन्छन् । आउजनो अनुशासन त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंसक स्वभाव भएका र अविवेकीहरूलाई सधैँ म्लेच्छ भन्ने गरिएको छ । (शुक्रनीति, अध्याय – १ श्लोक सङ्ख्या ३०—३७) यी कुरा त त्यसबेलाका लागि, त्यतिबेलाको व्यवस्थाले, अवस्थाले सिर्जना गरेका हुन् । कल्पना हुन् या वास्तविकता, यी विगतका विषय हुन् ।
अहिलेको अवस्थामा जस्ताको तस्तै गरी हामीलाई चित्त नबुझ्न सक्दछ । तर हाम्रो समाजमा कार्यविभाजनको प्रणाली पहिलेदेखि नै रहेको थियो र यो हाम्रो संस्कृति थियो । ती हाम्रो संस्कृतिका धरोहर हुन सक्दछन्, शासनका कानुन हुन सक्दैनन् । संस्कृतिका हिसाबले अहिले दलित भनिएकाहरूमध्येका ‘विश्वकर्मा भगवानका रूपमा पूजित व्यक्तित्व हुन् । अहिले पनि विश्वकर्माको पूजा गर्ने चलन छ । गाउने—बजाउनेहरू (गन्धर्व) देवगणमा पर्दथे । शब्दकोषहरूमा गन्धर्वलाई गायन—वाद्य आदिबाट आनन्द लिने समुदाय, देवयोनिविशेष, देवताविशेष आदि भनेर अथ्र्याएको छ । के देवता पनि अछूत हुन्थे र ?वेदमा उल्लेख गरिएका शिल्पी समुदाय कसरी अछूत भए ? सेवक भनिएकाहरू कसरी अछुत भए ? वाद्यवादनको, वाद्यसामग्रीको त्यतिबेला ठूलो महत्व थियो भन्ने कुरा विष्णुको शङ्ख, शिवको डमरू, सरस्वतीको वीणा, नारदको सितार, कृष्णको मुरली आदिबाट पनि थाहा पाउन सकिन्छ ।
खैर, दलित भनिएका समुदायमाथि हाम्रो समाजमा जेजति विभेदहरू छन्, ती विभेदहरूको उन्मूलन र उनीहरूको सम्मानजनक जीवनको सुनिश्चितता राज्यको जिम्मेवारी हो, न कि कुनै इतिहास, जाति, संस्कृति र धर्मविशेषको । ‘देव’गण भनिएका वाद्य—वादनका कलाकर्मी, भगवान भनेर पूजित् विश्वकर्माका शिल्पी र पौरखी सन्तान, जो आज दलित भनिएका छन्, संस्कृतिबाट सम्मानित गौरव पुनः प्राप्त गर्न ‘दलित’हरूमा सांस्कृतिक पुनर्जारण आवश्यक छ । त्यति बेलाका सबै कुरा सही थिए या सबै कुरा गलत थिए भन्ने बहसले अहिलेको अवस्थामा परिवर्तन ल्याउने होइन । वेदमा लेखिएका कुरा अब फेरिँदैन । शास्त्रमा लेखिएका विषय पनि मेटिँदैन । इतिहासलाई सरापेर वर्तमान सुध्रिँदैन । इतिहासका, संस्कृतिका पुस्तक हेरेर न समाज चलेको छ, न त राज्य नै । अहिले कसलाई कुन ठाउँमा राख्ने भन्ने कुरा राज्यको कानुनले निर्धारण गर्ने विषय हो । राज्यको कानुन कसले बनाउँछन् ? राजनीतिक नेतृत्वले यो काम गर्दछ । नीतिहरू कार्यान्वयन गराउनका लागि राज्यको लगानीमा यत्रो प्रशासनिक संयन्त्र छ । यस्तो देख्दादेख्दै, जान्दाजान्दै पनि हामी रहस्यका पछि दगुर्छौं भने गैरजिम्मेवार जिम्मेवारहरूलाई हाइसञ्चो हुने नै भयो । दलित समुदायलाई जातीय दलनबाट मुक्त पार्ने जिम्मेवारीबाट पन्छिन कसैले संस्कृति, परम्परा र इतिहासलाई दोष लगाउँछ भने यस्तो त्यसका पछि लाग्नु बुद्धिमानी ठहर्दैन ।
समाजमा अनेकौँ प्रकारका विविधता छन्, विविधता त समाजका विशेषता हुन् । यी विविधता नै दलनको माध्यम बन्नु हुँदैन । हामी सबैका पुर्खाले निर्माण गरेको संस्कृति कुनै जातविशेषको दलनको औजार हुन सक्दैन, हुन हुँदैन । हिन्दु संस्कृतिको मूल ग्रन्थ वेद हो । वेदमा कुनै जातिविशेषलाई दलित बनाइएको छैन । के वेदमा भनिएका, मनुस्मृतिमा उल्लेख गरिएका शूद्र, सेवक र शिल्पी सबै अहिलेका दलित समुदाय हुन् ? किन आजका दलितले आफूलाई शूद्र स्वीकार गरेका हुन् ? दलित शब्द हाम्रो छुवाछुतलगायत दलन, उत्पीडनमा परेका र रहेका समुदायको आन्दोलनका लागि रचना गरिएको शब्द हो । यस शब्दलाई शूद्रको पर्यायवाचीका रूपमा पुष्टि गर्न किन मरिहत्ते गर्नुपरेको होला ?
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)